प्रहार समाचार । आगानिस्तान , १६ भदौ २०८२ सोमवार । पूर्वी अफगानिस्तानको नान्गरहार प्रान्त नजिक ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पको केन्द्र जलालाबादबाट २७ किलोमिटर टाढा रहेको र यसको झट्का काबुलसम्म महसुस गरिएको बीबीसीले जनाएको छ। कम्पन केही सेकेन्ड चलेको थियो, तर असर निकै भयावह भएको छ।

कुनार र नान्गरहार प्रान्तहरूमा धेरै जनधनको क्षति भएको छ। कुनारको सावकाई जिल्लामा मात्रै २० जनाको मृत्यु र ३५ जना घाइते भएका छन्। पहिरो र बाढीका कारण सडक अवरुद्ध हुँदा उद्धारकार्य प्रभावित भएको छ भने केही क्षेत्रमा मोबाइल सञ्जालसमेत काम नगरेको जनाइएको छ।

तालिबान सरकारले सयौंको मृत्यु हुनसक्ने अनुमान गर्दै हेलिकप्टरमार्फत उद्धार र शवको ढुवानी गरिरहेको छ। स्थानीयहरू आफैं भग्नावशेषबाट शव निकाल्न बाध्य छन्। यही साता बाढीले पाँच जनाको ज्यान लिएको बेला फेरि भूकम्प आउनुले विपत्तिको मात्रा दोब्बर बनाएको छ।

अफगानिस्तान पहिले नै खडेरी, सहायता कटौती र खाद्य संकटको सामना गरिरहेको छ। यस्तो अवस्थामा आएको यो भूकम्पले मानवीय संकटलाई झन् गहिरो बनाएको छ। अन्तर्राष्ट्रिय समुदायको ध्यान र सहायता अहिले अत्यावश्यक देखिएको छ।
























