हेडलाईनसमाचारप्रदेशमनोरञ्जन

नेपाल आइडल सिजन–६ को उपाधि सोनामलाई : नगद २५ लाख सहित चम्किलो ट्रफी चुमिन्

प्रहार समाचार । काठमाडौं, १६ भदौ २०८१ सोमवार । गायन क्षेत्रको लोकप्रिय नेपाली रियालिटी शो ‘नेपाल आइडल’ सिजन–६ को उपाधि सिन्धुपाल्चोककी गंगा सोनामले जितेकी छन्। आइतबार राति राजधानीको ललितपुरमा हिंजो सम्पन्न ग्राण्ड फिनालेमा चार जना प्रतिस्पर्धीलाई पछि पार्दै गंगाले उपाधि हात पारेकी हुन्। दर्शकको भोटको आधारमा विजेता घोषणा गरिएको यो रियालिटी शोमा गंगाले उत्कृष्ट प्रदर्शन मात्र होइन, दर्शकको अपार समर्थन पनि प्राप्त गरेकी थिइन् ।

उपाधिसँगै गंगाले २५ लाख नगद सहित आकर्षक ट्रफी र अन्य थुप्रै उपहार प्राप्त गरेकी छन्। यस सिजनमा सिक्किम (भारत) की बबिता थापामगर फर्स्ट रनरअप बनिन् भने चितवनकी दर्शना गान्धारी सेकेन्ड रनरअप बनिन्। बबिताले नगद १० लाख र दर्शनाले ५ लाख रुपैयाँ सहित विभिन्न उपहार जिते। त्यस्तै, दार्जिलिङका अभिनय खाती चौथो र काठमाडौंका मृनल मानन्धर पाँचौँ स्थानमा रहे। दुबै जनाले एक–एक लाख रुपैयाँ पुरस्कार स्वरूप प्राप्त गरे।

नेपाल आइडल सिजन–६ को निर्णायक मण्डलमा न्ह्यू बज्राचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशी थिए। कार्यक्रमको उद्घोषण आसिफ शाहले गरेका थिए भने सुरेश पौडेल र एलेन श्रेष्ठ शोका निर्देशक थिए। सम्पूर्ण फिनाले कार्यक्रमलाई प्रत्यक्ष प्रसारण गरिएको थियो ।

यसअघि नेपाल आइडलको उपाधि क्रमशः बुद्ध लामा, रवी ओड, सज्जा चौलागाईं, भूपेन्द्र थापामगर र करण परियारले जितिसकेका छन्। अहिले गंगा सोनाम पनि यस सूचीमा नाम लेखाउन सफल भएकी छन्। उनको यो सफलताले नेपाली संगीत क्षेत्रमा नयाँ ऊर्जा र प्रेरणा थपेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button