
‘हामी रिसको झोकमा अरूलाई दुख दिन्छौं। डाहले अरूको सफलता देख्न सक्दैनौं। जात, धर्म, लिंग हेरेर घृणा गर्छौं। “म मात्रै सही, म मात्रै जान्ने” भनेर अहंकार पाल्छौं। न्याय बेच्छौं, सत्यलाई झूट बनाउँछौं। अरूलाई असफल बनाउने खेल खेल्छौं, विश्वास तोड्छौं, धोका दिन्छौं।’ भन्दै लक्ष्मी प्रसाद आचार्य लेख्छन् :
आजभोली समाजमा केही मानिसहरू देखिन्छन्, जो भन्छन्— “मभन्दा जान्ने, बुझ्ने अरू कोही छैन।” तर साँच्चै त्यस्तो हुन्छ त?
हामी मानिस हौं, तर मान्छे भएर पनि अरूको पीडा बुझ्न सक्दैनौं। सारा जीवन अरूको लागि बिताउँछौं, तर कहिल्यै आफूलाई एकछिन सम्झँदैनौं। त्यसैले एकपटक सोच्न त पर्छ—हामी किन घमण्ड गर्छौं?
जब मानिस जन्मिन्छ, खाली हातै जन्मिन्छ। मरेपछि पनि त्यही खाली हातमै जान्छ। तर जिउँदो रहँदासम्म हामी आफैलाई ठूलै ठान्छौं। अरूलाई सानो सम्झन्छौं, दबाउँछौं, हेप्छौं।
रिसको झोकमा अरूलाई दुख दिन्छौं। डाहले अरूको सफलता देख्न सक्दैनौं। जात, धर्म, लिंग हेरेर घृणा गर्छौं। “म मात्रै सही, म मात्रै जान्ने” भनेर अहंकार पाल्छौं। न्याय बेच्छौं, सत्यलाई झूट बनाउँछौं। अरूलाई असफल बनाउने खेल खेल्छौं, विश्वास तोड्छौं, धोका दिन्छौं।
जब स्वार्थ आउँछ, तब अरूको पीडा बिर्सन्छौं। अरूको कमजोरीको फाइदा उठाउँछौं। पछि परे गाली गर्छौं, बिरामी परेका बुढाबुढीलाई बेवास्ता गर्छौं।
तर के हामीले कहिल्यै सोच्यौं—जन्म हाम्रो इच्छा थियो ? होइन। हामी त आमा–बुबाको आशिर्वाद र ईश्वरको इच्छा अनुसार जन्मिएका हौं। नाम पनि अरूले राखिदिएका हुन्। पढ्न, लेख्न, केही बन्न अरूको सहयोग चाहियो। जागिर, व्यवसाय, इज्जत-सबै अरूको साथले सम्भव भयो।
त्यसो भए, हाम्रो आफ्नै भन्नु के हो ?
जब रोग लाग्छ, शरीर पनि आफ्नो लाग्दैन। पैसाले पीडा कम हुँदैन। औषधि अरूले खुवाउँछन्, हेरचाह अरूले गर्छन्। जब मर्नै बेला हुन्छ, शरीर नुहाउनेदेखि चितासम्म लैजाने पनि अरू नै हुन्छन्।
हामीले जिन्दगीभर कमाएको सम्पत्ति पनि अन्त्यमा अरूको हुन्छ। कोही छोरा, कोही छोरी, नातेदार—सबैले बाँडेर लैजान्छन्।
मतलबी मानिसलाई कति माया गरे पनि, उनीहरू कहिल्यै आफ्ना हुँदैनन्। उनीहरू सधैं आफैलाई फाइदा हुने ठाउँमा मात्रै हुन्छन्।
त्यसो भए, हामी किन घमण्ड गर्छौं?
साँचो गर्व गर्ने कुरा धन, रूप, पद वा इज्जत होइन। यी त क्षणिक हुन्—आज छन्, भोलि छैनन्। साँचो सम्पत्ति भनेको माया हो, करुणा हो, सहानुभूति हो। हामीले गरेको राम्रो काम मात्रै हो, जुन हाम्रो मृत्युपछि पनि बाँकी रहन्छ।
जब कसैको नाम “सदाचार”सँग जोडिन्छ, तब उनी मरे पनि सम्झिरहन्छन्। त्यसैले, अब कम्तिमा यति त गरौं—
सबैप्रति दया र माया देखाऔं,
सत्य बोलौं, आफ्नो वचनमा दृढ रहौं,
घमण्ड नगरी सबैलाई सम्मान गरौं,
पीडामा परेका मानिसलाई साथ दिऔं,
गल्ती भए क्षमा गरौं,
फरक विचारलाई पनि सम्मान गरौं,
समयको मूल्य बुझौं,
अरूबाट पाएको सहयोगलाई सम्झौं,
अन्याय देख्दा मौन नबसौं,
सकिएको ज्ञान, समय र सम्पत्ति अरूसँग बाँडौं,
मीठो बोलौं, आशा बाँडौं।
हामी जन्मिदा पनि अरूको सहारामा जन्मिएका थियौं, मर्दा पनि अरूको सहारामा जान्छौं। त्यसैले, अब पनि अहंकार होइन – नम्रता अपनाऔं। घमण्ड होइन – प्रेम बाँडौं।
जीवनपछि बाँकी रहने कुरा भनेको धन होइन, नाम होइन –
“राम्रो कर्म” मात्र आफ्नो हो। बाँकी सबै त अरूको हो। सबैको कल्याण होस् , सबैको जय होस् ।
























