प्रहार समाचार । तनहुँ, ९ भदौ सोमवार । । हिन्दु नारिहरुको महान पर्व हरितालिका तीजको अवसरमा ऋषिङ्ग गाउँपालिकाले आयोजना गरेको वडास्तरीय महिला खुला तीज गीत प्रतियोगिताले गाउँपालिकाभरि नै उत्साह र उमङ्गको वातावरण सिर्जना गरेको छ । “ऋषिङ्गको विकासमा पूर्व र वर्तमान अवस्थाः संघीयतामा महिलाहरूको भूमिका” भन्ने विषयमा आधारित प्रतियोगिताले महिलाको सशक्तिकरणसँगै संस्कृति जगेर्नामा नयाँ ऊर्जा भरेको छ ।

कार्यक्रममा बोल्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले संघीय संरचनामा महिलाको सक्रिय सहभागिता अपरिहार्य भएको उल्लेख गरिन् । उनले महिलाको नेतृत्व र निर्णय प्रक्रियामा समान पहुँच नभई समावेशी समाज सम्भव नहुने बताउँदै तीज जस्ता पर्वले महिलाको एकता र चेतनालाई बलियो बनाउने धारणा राखिन् ।

पपालिकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठले महिलाको सशक्त सहभागिताविना स्थानीय विकास अधुरो हुने बताए ।

उपाध्यक्ष गिनुमाया थापाले महिलाले सांस्कृतिक परम्परा मात्र होइन, सामाजिक रूपान्तरणमा पनि महत्त्वपूर्ण योगदान दिइरहेको विचार व्यक्त गरिन् ।
प्रमुख प्रशासकीय अधिकृत अनिल अंगाईले प्रतियोगिताले महिलाको आत्मबल र सिर्जनशीलतालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे ।

ढुङ्गाडे पार्क, ऋषिङ्ग–६ मा सम्पन्न कार्यक्रममा गाउँपालिकाप्रतियोगितामा ग्याजा आमा समूह, ऋषिङ्ग–१ प्रथम, लालिगुराँस आमा समूह, ऋषिङ्ग–५ द्वितीय, र प्रगति महिला संजाल, ऋषिङ्ग–४ तृतीय भए । यस्तै सुकेपोखरीस्थित नमुना आमा समूहलाई सान्त्वना पुरस्कार प्रदान गरिएको थियो । विजयी टोलीलाई नगदसहित प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।

१५ टिमको सहभागिता रहेको यो प्रतियोगिताले तीजलाई मात्र मनोरञ्जन र उत्सव नभई, सामाजिक चेतना र विकास बहसको मंच बनाएको सहभागीहरूले अनुभव साटे ।





















