हेडलाईनविचारप्रदेश

‘केक, क्यामेरा र काँप्ने गणतन्त्र’- दिपकराज जोशी

देश साँच्चिकै गजबकै बनाएछौँ । यहाँ कुनै नागरिकले जन्मदिन मनाउँछ, अनि सामाजिक सद्भाव ‘खतरा’मा पर्छ। राजाको नातीले दुर्गम गाउँमा पुगेर क्यामेरा चलाउँछ, अनि गणतन्त्रको जग नै हल्लिन्छ। हामीले दशकौं संघर्ष गरेर ल्याएको व्यवस्थाको साहस यति कमजोर छ कि एउटा केक काट्दा र एउटा भिडियो अपलोड हुँदा नै काँप्न थाल्छ?

अहिले सामाजिक सञ्जालमा चक्रे मिलनले आफ्नो जन्मदिन मनाउँदै गरेको भिडियो भाइरल भयो। त्यसले सामाजिक सद्भाव भड्काएको आरोप लाग्यो। प्रश्न उठ्छ—त्यो केकमा के थियो? बारुद? विष? बम?

यो देशमा राज्य संयन्त्र यति ‘हाइपर सेन्सिटिभ’ भइसकेको छ कि एउटा कलाकारको व्यङ्ग्यपूर्ण प्रस्तुतिले नै सामाजिक संरचना च्यातिन्छ भन्नेहरू पनि छन्। महँगी, बेरोजगारी, औषधिको अभाव र कुशासनजस्ता गम्भीर समस्याहरूले सामाजिक सद्भाव बिगार्दैनन्, तर एउटा हास्य कलाकारको प्रस्तुति र केकको काटाइले बिगार्छ रे!

अब अर्को प्रसंगतर्फ जाउँ। पूर्वराजा ज्ञानेन्द्रका नाती हृदयेन्द्र शाह देशको सुदूर जिल्ला जुम्ला पुगे। त्यहाँको पर्यटन प्रवर्द्धनका लागि केही दृश्य मोबाइल क्यामेरामा कैद गरे। सामान्य रुपमा हेर्दा यो सकारात्मक प्रयास देखिनुपर्ने हो। तर, लोकतन्त्रका ‘बडेमान्यहरू’ कुद्न थाले—गणतन्त्र संकटमा पर्‍यो रे! संविधान नै हल्लिन लागेछ रे !

त्यहाँसम्म कि एकजना बहालवाला सांसदले नै हृदयेन्द्रको व्लगलाई नियोजित षड्यन्त्रको संज्ञा दिए। यस्तो प्रतिक्रिया देख्दा लाग्छ—हामी कस्ता जनप्रतिनिधिलाई जिताएर संसदमा पुर्‍याइरहेका छौं?

कस्तो हास्यास्पद अवस्था हो यो—गणतन्त्र मोबाइल क्यामेराबाट हल्लिन्छ? जनताको पीडा, दुख र विभीषिका देख्दा नहल्लिने सत्ता प्रणाली युट्युबको भिडियो देखेर काँप्न थाल्छ? यदि यो व्यवस्था यति डरपोक छ भने यो न त जनताका लागि हो, न त जनताले चाहेको व्यवस्था हो।

व्यङ्ग्य बोलेर जनतालाई हँसाउने कलाकारहरूलाई “विवादास्पद” भनिन्छ। तर झुटा सपना बाँड्ने, दोहोरिने आश्वासन दिने, जनतालाई धोका दिने नेताहरू भने “राष्ट्रिय गौरव” का पात्र ठानिन्छन्। देशको सौन्दर्य, प्राकृतिक विविधता र पर्यटकीय सम्भावना उजागर गर्न डाँडामा उभिएर क्यामेरामा दृश्य कैद गर्ने युवालाई निगरानीमा राखिन्छ, तर ठगी गर्ने ठेकेदार र करछली गर्ने सांसदहरू कानुनी संरक्षणमा रमाउँछन्। उनीहरूलाई पुरस्कार र सम्मान प्रदान गरिन्छ।

यही हो आजको हाम्रो मूल्यप्रणाली, जहाँहाँस्यलाई ‘खतरा’ ह, र लुटलाई ‘संस्कार’ मानिन्छ। यदि यस्ता सामान्य विषयबाट गणतन्त्र काँप्छ भने, त्यो गणतन्त्र होइन।

धेरैले भन्छन्—“राजा फर्के देश डुब्छ।”
ठिकै छ, तर प्रश्न के हो भने—राजा नआउँदा देश उठेको छ त ?

१७ वर्ष बितिसक्यो गणतन्त्र आएको। के दियो यसले ? देशको आधाभन्दा बढी जनता विदेशमा छन्। युवाहरू भोट हाल्नभन्दा पहिले पीआर फारम भरिदिने एजेन्ट खोज्दै छन्। शिक्षा, स्वास्थ्य र सुरक्षा जस्ता विषयहरू केवल भाषणका विषय बनेका छन्।

गणतन्त्रको आत्मा जनता हुन्। तर अहिलेको व्यवस्थामा जनताको पीडाभन्दा सत्ताको डर बढी देखिन्छ।

यदि एउटा केक र एउटा भिडियोले व्यवस्था डराउन थाल्छ भने त्यो व्यवस्था आत्महीन, अस्थिर र डरको भरमा टिकेको हुन्छ। यस्तो डरले सञ्चालित शासन व्यवस्थाले आलोचना होइन, केवल चाप्लुसी पचाउँछ। सुधार होइन, शंका उत्पादन गर्छ। अन्ततः त्यो व्यवस्था आफ्नै डरले खिइँदै जान्छ र ढल्छ ।

• जोशी तनहुँका स्वतन्त्र यूवा नेता हुन् ।

– द


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button