प्रहार समाचार । अब्यान (यमन), १९ साउन २०८२ सोमवार । अफ्रिकी आप्रवासीहरूको खाडी मुलुकतर्फको यात्रा फेरि एकपटक दुःखान्तमा समाप्त भएको छ। खराब मौसमका कारण यमनको दक्षिणी प्रान्त अब्यान नजिक समुद्रमा डुङ्गा पल्टिँदा ५० भन्दा बढी आप्रवासीको ज्यान गएको छ भने कैयौं अझै बेपत्ता छन्।

डुङ्गामा करिब १५० जना सवार थिए। यमनको अब्यान सुरक्षा निर्देशनालयले जारी गरेको विज्ञप्तिमा तटीय क्षेत्रमा व्यापक रूपमा शवहरू फेला पारिएको र अझै खोजी कार्य जारी रहेको जनाएको छ।
अन्तर्राष्ट्रिय आप्रवासन संगठन (IOM) का अनुसार, ज्यान गुमाउनेहरूमध्ये धेरैजसो इथियोपियाली नागरिक हुन्। खाडी मुलुकहरू पुग्ने क्रममा यमन अफ्रिकी आप्रवासीहरूको प्रमुख मार्ग बनेको छ, तर यो मार्ग असुरक्षित र प्राणघातक बन्दै गएको छ।

आइओएमले हालका महिनामा सयौं आप्रवासी समुद्री दुर्घटनामा मरेको वा बेपत्ता भएको अनुमान गरेको छ।


























