प्रहार समाचार । तनहुँ , १९ साउन २०८२ सोमवार । गोरखाबाट चितवनतर्फ जाँदै गरेको यात्रुबाहक बस आइतबार दिउँसो ऐनापहरामा दुर्घटनामा पर्दा पाँच जना घाइते भएका छन्। ग २ ख १०७७ नम्बरको बस अपराह्न ४ बजे तिर सडकबाट करिब १५ मिटर तल खस्दा दुर्घटना भएको हो। बसमा जम्मा १२ जना यात्रु सवार थिए।

रोकिरहेको बस व्याक गर्ने क्रममा दुर्घटना हुँदा सहिद लखन गाउँपालिका–६ की ४० वर्षीया सुनु थापा, ४३ वर्षीया सीता थापा, २८ वर्षीया मीना थापा मगर, गोरखा नगरपालिका–९ का ५४ वर्षीय सनबहादुर गुरुङ र आँबुखैरेनी गाउँपालिका–१ गिरानचौरका ८ वर्षीय खुशी राम रामदाम घाइते भएका हुन्। घाइतेमध्ये गम्भीर अवस्थामा रहेका गुरुङ र सुनु थापालाई थप उपचारका लागि भरतपुर रिफर गरिएको छ भने अन्य तीन जनाको आँबुखैरेनी अस्पतालमा उपचारपछि डिस्चार्ज गरिएको छ।

प्रहरीका अनुसार बस पार्किङ गरिएको स्थानबाट व्याक गर्ने क्रममा सिधै तल खसेको हो। दुर्घटनाको बेलामा केही यात्रु ओर्लिसकेका थिए भने चालक, सहचालक र केही यात्रु बस खस्ने क्रममा हामफालेर ज्यान जोगाउन सफल भएका थिए। दुई जना यात्रु बससहित तल खसेका कारण गम्भीर घाइते भएका इप्रका आँबुखैरेनीका प्रहरी निरिक्षक टेकप्रसाद सुवेदीले बताए ।


























