हेडलाईनविचारप्रदेश

कोदो एक, महत्व अनेक

नेपालको पहाडी भूगोलमा उब्जने कोदो केवल अन्न मात्र होइन, इतिहास बोकेको अमूल्य सम्पदा हो। सुस्केरासहितको खेत, माटोको सुमधुर सुगन्ध र बुढी आमाको हातले पकाइएको कोदोको ढिंडो—यी सबै नेपाली पहिचानका अङ्ग हुन्। न्यून मल र पानी बिना नै हुर्किने, सस्तो तर पोषणले भरिपूर्ण कोदो आजको जलवायु संकटमा समेत समाधान बन्ने सम्भावना बोकेको बाली हो।

जब जलवायु परिवर्तनले धान सुकाउँदै छ, कोदो भने पहाडमा अझै मुस्कुराइरहेको छ। कोदाबाट बनेका ढिंडो, सेलरोटी, जाँड, छ्याङ जस्ता परिकारहरू हाम्रो संस्कृति, चाडपर्व र सामुदायिक आत्मीयतासँग गासिएका छन्। कहिल्यै गरिबीको प्रतीक भनेर चिनिएको कोदो आज पौष्टिक खानाको विकल्पका रूपमा पुनः मूल्यांकनमा परेको छ।

पहाडको जीवनशैली, परिश्रम र सहनशीलताको प्रतिक कोदो फेरि नेपाली भान्सामा फर्कंदैछ—स्वास्थ्य, स्वाद र संस्कृतिको खोजीसँगै।


कोदाको महत्त्व

कम लागतमा उत्पादन योग्य: अन्य खाद्यान्न बालीको तुलनामा कोदाको उत्पादन खर्च कम हुन्छ।

भण्डारणमा टिकाउ: लामो समयसम्म सुरक्षित रूपमा भण्डारण गर्न सकिन्छ। यसमा रोग तथा कीराको प्रतिरोधात्मक क्षमता पनि उच्च हुन्छ।

खाद्य संकटमा विकल्प: दुर्गम तथा खाद्यान्न आपूर्ति कठिन हुने क्षेत्रहरूमा स्थानीय रूपमा सहज रूपमा उपलब्ध हुने बाली।

पोषणयुक्त आहार: गर्भवती महिला र बच्चाहरूका लागि विशेष लाभदायक—हड्डीको विकास, रगतको मात्रा बढाउन सहयोगी।

रोग नियन्त्रणमा उपयोगी: मधुमेह, उच्च रक्तचाप, कब्जियत, दम, युरिक एसिडजस्ता रोगहरूको व्यवस्थापनमा सहयोगी। ग्लाइसेमिक इन्डेक्स कम भएकाले रक्तमा चिनीको मात्रा सन्तुलनमा राख्न मद्दत पुर्‍याउँछ।

जलवायु अनुकूल बाली: सुक्खा र न्यून वर्षा हुने क्षेत्रमा राम्रो उत्पादन दिनसक्ने जलवायुमैत्री बाली।

सांस्कृतिक महत्व: जात्रा, पर्व र परम्परागत खानपानमा कोदाको महत्वपूर्ण प्रयोग हुँदै आएको छ।


कोदामा पाइने प्रमुख पोषण तत्त्व (प्रति १०० ग्राममा)

क्र.सं. पोषण तत्त्व मात्रा

१ कार्बोहाइड्रेट ७६.३ ग्राम
२ प्रोटिन ९.२ ग्राम
३ चिल्लो पदार्थ १.४ ग्राम
४ रेशा ३.५ ग्राम
५ क्याल्सियम ३६० मि.ग्रा. (चामलभन्दा ३५ गुणा, मकैभन्दा ८ गुणा बढी)
६ फोस्फोरस २५४ मि.ग्रा.
७ फलाम ७.४ मि.ग्रा. (चामलभन्दा >३ गुणा, मकैभन्दा >२ गुणा, गहुँभन्दा >१ गुणा बढी)
८ उर्जा ३३३ क्यालोरी


कोदोले प्रदान गर्ने सम्पूर्ण पोषण तत्त्व—प्रोटिन, क्याल्सियम, फोस्फोरस र फलाम—प्रत्येक उमेर समूहका लागि लाभदायक छन्। त्यसैले कोदो जस्ता रैथाने बालीको संरक्षण र प्रवर्द्धन गर्नु आजको आवश्यकता हो।

परम्परागत ढिंडो वा जाँड जस्ता परिकारमा सीमित नरही, आज कोदोलाई समावेश गरिएका स्वस्थकर लड्डु, बिस्कुट, नुडल्स, मःम र बेबी फुडहरूले यसको मूल्य झनै बढाएको छ।

भोक मात्र होइन, रोगसँग पनि लड्न सक्ने क्षमता भएको कोदोको महत्त्व आजको सन्दर्भमा अझ सान्दर्भिक बनेको छ।

त्यसैले, रैथाने बालीप्रति माया गर्नु, संरक्षण गर्नु र प्रयोगमा ल्याउनु हामी सबैको साझा दायित्व हो।


• पोखरेल तनहुँको व्यास नगरपालिकाका कृषि अधिकृत हुन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button