• विजय अधिकारी ( संवाददाता ) लमजुङ, ३१ जेठ २०८३ आइतबार । जिल्ला ट्राफिक प्रहरी कार्यालय, लमजुङले सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जिल्लाका बढी दुर्घटनाग्रस्त चार स्थानमा ‘ब्ल्याक स्पट’ संकेत बोर्ड स्थापना गरेको छ। दुर्घटनाको उच्च जोखिम रहेका क्षेत्र पहिचान गरी रातिको समयमा समेत स्पष्ट देखिने ‘नाइट भिजन रिफ्लेक्टिभ’ प्रविधियुक्त ट्राफिक संकेत बोर्ड राखिएको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायव निरीक्षक गौतमबहादुर खत्रीका अनुसार डुम्रे–बेँसीसहर–चामे सडकखण्डअन्तर्गत बेँसीसहर नगरपालिका–१ स्थित उदीपुर, बेँसीसहर–१ कै गाईखुरे झरना, बेँसीसहर नगरपालिका–७ को भीमसेनथान तथा सुन्दरबजार नगरपालिका–९ को सिउँडीबारलाई दुर्घटनाको उच्च जोखिमयुक्त क्षेत्रका रूपमा पहिचान गरी संकेत बोर्ड स्थापना गरिएको हो।

उनका अनुसार नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, लमजुङ शाखासँगको समन्वय तथा सहकार्यमा जडान गरिएका ती बोर्डहरूमा रिफ्लेक्टिभ प्रविधि प्रयोग गरिएको छ, जसले रातिको समयमा पनि चालकलाई स्पष्ट रूपमा जोखिमबारे जानकारी दिन सहयोग पुर्याउनेछ। यसबाट चालकले समयमै सतर्कता अपनाई सवारीको गति नियन्त्रण गर्न सक्ने र सम्भावित दुर्घटना न्यूनीकरणमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

ट्राफिक प्रहरीका अनुसार दुर्घटना बढी हुने स्थानमा चेतनामूलक पूर्वाधार विस्तार गर्दै सुरक्षित सडक यातायातको वातावरण निर्माण गर्ने अभियानअन्तर्गत संकेत बोर्ड स्थापना गरिएको हो। कार्यालयले आगामी दिनमा समेत आवश्यकताअनुसार अन्य जोखिमयुक्त क्षेत्रमा यस्ता ट्राफिक संकेत बोर्ड विस्तार गर्दै लैजाने योजना रहेको जनाएको छ।





















