प्रहार समाचार । सप्तरी, १९ साउन २०८२ सोमवार । लगातारको वर्षाले सप्तकोसी नदीमा पानीको बहाव यस वर्षकै उच्च विन्दुमा पुगेको छ। नदीमा पानीको सतह बढेसँगै कोसी ब्यारेजका ५६ ढोकामध्ये २७ वटा ढोका खोलिएको जलस्रोत तथा मौसम विज्ञहरूले जनाएका छन्।

पानीको सतह खताको सीमासम्म पुग्न थालेपछि सुरक्षाको उपायस्वरूप कोसी ब्यारेज क्षेत्रमा रातो संकेत बत्ती बालिएको छ। नदीमा पानीको बहाव उच्च भए पनि हालसम्म कुनै ठूलो समस्या नदेखिएको अधिकारीहरूले बताएका छन्।
सुरक्षालाई मध्यनजर गर्दै सम्बन्धित निकायहरू सतर्क अवस्थामा रहेका छन्। बाढीको सम्भावित असरलाई ध्यानमा राख्दै स्थानीय प्रशासनले आवश्यक तयारी र निगरानी कार्यलाई तीव्र बनाएको सप्तरीका प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले जानकारी दिए। स्थानीय बासिन्दाहरूलाई नदी किनार नजान र सचेत रहन समेत उनले अनुरोध गरेका छन् ।



























