प्रहार समाचार । रूस, १९ साउन २०८२ सोमवार । ५०० वर्षपछि पहिलोपटक रूसको क्रशेनिनिकोभ ज्वालामुखी विस्फोट भएको छ। कामचाट्का द्वीपस्थित यो ज्वालामुखी २ अगष्टमा सक्रिय बनेको हो। विस्फोटपछि करिब ६ हजार मिटर उचाइसम्म खरानीको मुस्लो फैलिँदा प्रभावित क्षेत्रको हवाई मार्ग अस्थायी रूपमा बन्द गरिएको छ।

रुसी अधिकारीहरूले ज्वालामुखी विस्फोटको पुष्टि आइतबार गरेका हुन्। कामचाट्काको आपतकालीन मामिला मन्त्रालयका अनुसार क्रशेनिनिकोभ अन्तिमपटक १५औं शताब्दीमा विस्फोट भएको थियो। बस्ती क्षेत्रमा तत्काल कुनै जोखिम नभएको जानकारी पनि मन्त्रालयले दिएको छ।

वैज्ञानिकहरूले यस विस्फोटलाई हालै आएको ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पसँग सम्बन्धित हुनसक्ने बताएका छन्। कामचाट्कास्थित ‘भल्केनिक इरिप्सन रेस्पोन्स टिम’की प्रमुख ओल्गा गिरिनाका अनुसार भूकम्पकै कारण ज्वालामुखी सक्रिय भएको अनुमान छ।


























