प्रहार संवाददाता । काठमाडौं, १८ साउन आइतबार — साताको पहिलो दिन आइतबार सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। आज छापावाला सुनको मूल्य प्रतितोला ३ हजार ४ सय रुपैयाँले वृद्धि भई १ लाख ९६ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो कारोबार दिनमा उक्त सुन प्रतितोला १ लाख ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको थियो।

चाँदीको मूल्यमा पनि सानो वृद्धि :
सुनको मूल्यसँगै चाँदीको मूल्यमा पनि आंशिक वृद्धि देखिएको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर २ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। दैनिक उपभोग्य धातुका रूपमा समेत प्रयोग हुने चाँदीको मूल्य स्थिर रहँदै आएकोमा पछिल्लो समय साना उतारचढाव देखिन थालेका छन्।
१० ग्रामका दरले पनि नयाँ दर सार्वजनिक :
महासंघले १० ग्रामको आधारमा पनि धातुहरूको मूल्य तोकेको छ। सो अनुसार, प्रति १० ग्राम छापावाला सुनको मूल्य १ लाख ६८ हजार ४ सय ७० रुपैयाँ कायम गरिएको छ भने चाँदीको मूल्य १ हजार ९ सय २९ रुपैयाँ पुगेको छ। सुनको भाउमा देखिएको तीव्र उकालो अन्तर्राष्ट्रिय बजारको प्रवृत्तिको असरका रूपमा विश्लेषण गरिएको छ।

























