• ईश्वर बास्तोला / प्रहार समाचार । तनहुँ, १८ साउन २०८२ आइतवार । लागू पदार्थको ‘ट्रान्जिट प्वाइन्ट’ को रूपमा लिइने तनहुँको आबुखैरेनीमा दुर्ब्यसन विरुद्धको आवाजलाई व्यापकता दिइएको छ। पालिकाको –१ समस्तिपुरस्थित चन्द्रोदय माध्यमिक विद्यालयमा शनिबार सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

पिस हेवन पुनस्थापना केन्द्रको आयोजनामा भएको उक्त कार्यक्रम पुनःस्थापनाका कथा, पीडाका अनुभूति, अपराधसँगको सम्बन्ध र सुधारको सम्भावनाका विषयमा छलकल भएको थियो ।
जड्याहा संस्कृतिको छायामा युवापुस्ताको भविष्य :
कार्यक्रमका आबुखैरेनी–१ का वडाध्यक्ष प्रेमबहादुर गुरुङले दुर्ब्यसनलाई जड्याहा संस्कृतिसँग तुलना गर्दै मतौली जातिमा जाडरक्सी परम्परागत रूपमा घरायसी व्यवहार बनिसकेको बताउँदै यसले समाजमा नकारात्मक असर पारेको उल्लेख गरे ।

दुर्व्यसनको कारण अपराध, परिवारमा बिचल्ली :
कार्यक्रमका वक्ता लागूपदार्थ पुनःस्थापना तथा पदामर्शदाता दुर्गा बहादुर थापाले दुर्ब्यसन र अपराधबीचको सीधा सम्बन्ध रहेको चर्चा गर्दै आबुखैरेनीमा पक्राउ परेका चोरीका घटनामा संलग्न अधिकांशको पृष्ठभूमि हेर्दा लागुपदार्थ सेवनकै लागि चोरीमा संलग्न रहेको बाइएको बताए। उनले समाजमा लुकाउने प्रवृत्तिको कारण समस्या गम्भीर हुँदै गएको बताए ।
प्रहरीको रिपोर्ट: ट्रान्जिट पोइन्ट बन्दै आबुखैरेनी :
इलाका प्रहरी कार्यालय आबुखैरेनीका प्रहरी निरीक्षक टेकप्रसाद सुबेदी अनुसार लागुपदार्थ ओसारपसार गर्ने मुख्य ट्रान्जिट पोइन्टमध्ये एक आबुखैरेनी बन्नु बिढम्बनाको विषय रहेको उल्लेख गरे । यस आर्थिक वर्षमा मात्रै ८० जना लागुऔषध कारोबारमा संलग्न पक्राउ गरिएकाे उनले जानकारी दिए ।
सुबेदीका अनुसार गरिबी, बेरोजगारी र असजिलो पहुँचको कारण समुदायका कमजोर वर्ग यो जालोमा परेको उल्लेख गर्दै सबै एक जुट भएर लागेको म खण्डमा समस्या समाधान हुने उल्लेख गरे ।

पुनःस्थापनाबाट पुनर्जन्म — प्रेरक अनुभव :
कार्यक्रममा आबुखैरेनीका पूर्व दुर्ब्यसनी ‘सिके मगर’को आत्मकथा प्रेरणादायी रह्यो। ‘समयमै रिह्याब पुगेपछि जीवन बदलियो। अहिले व्यवसाय गर्दै परिवारको जिम्मेवारी बोक्दैछु ।’ उनले भने। यस्तै बुटवलका मीन मगरले साथीको मृत्यु र आफ्नै अनुभव सुनाउँदा धेरैका आँखा रसाएका थिए ।’साथीको ओभरडोजले मेरो आँखैअगाडि उसको जीवन गयो। म बाँचेँ, अब अरूलाई बचाउने अभियानमा छु ।’ उनले भने। हाल उनले बुटवल र दाङमा पुनस्थापना केन्द्र सञ्चालन गरिरहेका छन्।

पुनःस्थापना केन्द्रको अभियान :
पिस हेवन पुनस्थापना केन्द्रका अध्यक्ष रविन्द्र श्रेष्ठले आबुखैरेनीमा समुदायस्तरमा सचेतनामूलक कार्यक्रमहरू विस्तार गर्ने बताएका छन्। ‘समाजमा व्यवहारिक सुधार ल्याउन पुनःस्थापनाको साथमा परिवार, छिमेक र समुदायको सहयोग आवश्यक छ।’-उनले जोड दिए। कार्यक्रमको सहजीकरण ईश्वर बास्तोलाले गरेका थिए।

























