प्रहार समाचार। काठमाडौँ, १८ साउन २०८२ आइतवार । देशभरका विभिन्न जिल्लामा प्रहरीले एकै दिन सञ्चालन गरेको लागूऔषधविरुद्धको अपरेसनमा नियन्त्रित तथा अवैध लागूऔषधसहित २० जनाभन्दा बढी व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेहरूबाट ट्रामाडोल, ब्राउनसुगर, अफिम, गाँजा, डाईजेपाम लगायतका औषधि बरामद गरिएको छ।

काठमाडौंको तारकेश्वर नगरपालिका–४ शेषमतीबाट ट्रामाडोल १३० ट्याब्लेटसहित लमजुङ घर भई त्यही बसोबास गर्दै आएका २४ वर्षीय मिलन परियार हिंजो पक्राउ परेका हुन्। उनलाई प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो। थप अनुसन्धानका क्रममा काठमाडौं महानगरपालिका–१६ नयाँबजारमा बस्ने २५ वर्षीय शाहिल अली देवानलाई बालाजुबाटै ट्रामाडोल ३०० ट्याब्लेटसहित पक्राउ गरिएको छ।
सुर्खेत जिल्लामा दुई फरक घटनामा लागूऔषधसहित तीन जना पक्राउ परेका छन्। भेरीगंगा नगरपालिका–१२ छिन्चुबाट करिब २.६ ग्राम ब्राउनसुगरसहित मुगु, खत्याड गाउँपालिका–३ का २५ वर्षीय सुरेश शाही पक्राउ परेका हुन्। नेपालगन्जबाट सुर्खेत आउँदै गरेको भ्यानमा सवार शाहीलाई इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको टोलीले समातेको हो। त्यसैगरी, सोही इलाकाको भेरीगंगा–१० झिलमिले बस्ने हिमा पुनको घर तलासी गर्दा १३ ग्राम अफिम बरामद भएपछि उनलाई पनि पक्राउ गरिएको छ।

बाँकेको नेपालगन्ज बसपार्कबाट प्रहरीले ट्रामाडोल ६ सय र नाइट्राजेपाम १४ ट्याब्लेटसहित दुई किशोर – दाङ घोराही उपमहानगरपालिका–११ का १९ वर्षीय महेश बुढाथोकी र रुकुम पश्चिम मुसिकोट नगरपालिका–१ का १९ वर्षीय ईश्वर परियारलाई पक्राउ गरेको हो। अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको टोलीले लागूऔषधसहित उनीहरूलाई नियन्त्रणमा लिएको थियो।
सिराहा जिल्लाको औरही गाउँपालिका–४ नयाँ कमलपुर गाउँबाट करिब १०३ किलो गाँजासहित गोलबजार नगरपालिका–१ का ४२ वर्षीय जय राम जोशीसहित ९ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ। सिराहा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई गाँजाको ठूलो परिमाणसहित समातेको हो।
पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका–४ करबोला चोकबाट ८ किलो ४४० ग्राम गाँजासहित पर्सागढी नगरपालिका–९ एकटाङ्गा बस्ने ३४ वर्षीय जग मोहन यादव पक्राउ परेका छन्। बीआर ०५ एजि ६८०५ नम्बरको मोटरसाइकलमा गाँजा बोकेर हिँडिरहेका यादवलाई इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले समातेको हो।
झापा जिल्लाको भद्रपुर नगरपालिका–९ बस्ने ३८ वर्षीय नरेन राजबंशीलाई पनि प्रहरीले १.२ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ। प्रहरीले घर तलासी गर्ने क्रममा लागुऔषध फेला पारेपछि उनलाई नियन्त्रणमा लिएको हो।
पोखरा महानगरपालिका–५ प्रस्याङबाट म्याग्दी घर भई बसोबास गर्दै आएका ३२ वर्षीय सुशिल परियारसहित दुई जनालाई डाईजेपाम, आईपिपिएल र फेनारगन गरी १२९ एम्पुल लागूऔषधसहित प्रहरीले पक्राउ गरेको हो। वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले परियारको कोठा तलासी गर्दा ती औषधि फेला पारेको थियो।

प्रहरीका अनुसार सबै घटनाहरूमा लागूऔषध सम्बन्धी मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान अघि बढाइएको छ। प्रहरी स्रोतका अनुसार लामो समयदेखि सक्रिय गिरोहहरूलाई पत्तो लगाई सञ्जाल नै तोड्ने उद्देश्यले अभियान तीव्र पारिएको हो।

























