प्रहार समाचार । तनहुँ, १६ साउन २०८२ शुक्रवार । तनहुँको ऋषिङ गाउँपालिका–१, झापुटारबाट साउन ७ गते रातिदेखि रहस्यमय रूपमा बेपत्ता भएका ब्यास नगरपालिका–१३ बेलवासका २६ वर्षीय कमलेस चन्द ठकुरीको खोजी तथा अनुसन्धानलाई प्रहरीले तीव्र बनाएको छ। १० दिन बित्दासमेत उनको अवस्थाबारे कुनै जानकारी नआएपछि घटनाप्रति चासो थपिएको छ।

यसैबीच, सशस्त्र प्रहरीको गोताखोर टोलीले बिहीबार दिनभर भानुबाट आएर सुँडेको पुल आसपासका नदी क्षेत्रमा डुङ्गाको सहायताले खोजी गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवत्ता एवं प्रहरी नायव उपरिक्षक अशोक थापाले प्रहार समाचारलाई बताए । उता स्थानीय बासिन्दा सयौँको संख्यामा डाँडा, खोल्सालगायत क्षेत्र चहार्दै चन्दको खोजीमा खटिएका छन्। खोजी कार्यसँगै अनुसन्धानलाई समेत थप प्रविधिमैत्री बनाउँदै प्राविधिक टोलीसमेत परिचालन गरिएको प्रहरीले जनाएको छ ।
घटनालाई गम्भीरताका साथ लिँदै जिल्ला प्रहरी कार्यालय तनहुँले हालसम्म ६ जना युवाहरूलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। साथै, दुई युवतीसहित दर्जनौँ सरोकारवालासँग बयान लिइसकेको प्रहरीले जनाएको छ। चन्द बेपत्ता बनाउने घटनामा ती व्यक्तिहरूको संलग्नता देखिएपछि परिवारको जाहेरीका आधारमा उनीहरूविरुद्ध किटानी जाहेरी दर्ता गरिएको प्रवक्ता थापाले बताए ।

यसै बिच जिल्ला प्रहरी र प्रदेश प्रहरीको संयुक्त टोली रातदिन अनुसन्धानमा खटिइरहेको एक अनुसन्धान अधिकृतले जानकारी दिए। “हामी जुनसुकै हालतमा पनि घटनाको सत्यतथ्य सार्वजनिक गर्नेछौँ,” ती अधिकृतले भने, “पिडित पक्षको सहयोगले अनुसन्धानलाई थप सहज बनाएको छ।”


























