प्रहार समाचार । तनहुँ, १६ साउन २०८२ शुक्रवार । नेपाली नारीहरूको महान पर्व हरितालिका (तीज) को अवसर पारेर तनहुँ सञ्चार सहकारी संस्था लि. (दमौली एफएम र दमौली खबर राष्ट्रिय दैनिक) को आयोजनामा भदौ १० गते दमौलीको खुल्ला मञ्चमा खुला तीज गीत प्रतियोगिता हुने भएको छ।

संस्थाका अध्यक्ष हरिशरण पण्डितका अनुसार प्रतियोगिताको उद्देश्य नेपाली संस्कृतिको संरक्षण गर्नुका साथै डिजिटल युगसँगै अगाडि बढ्दै महिलाहरूको भावनालाई सामाजिक सञ्जालमार्फत अभिव्यक्त गर्ने प्लेटफर्म प्रदान गर्नु हो। ‘अबको तीज सामाजिक सञ्जालसँग जोडिँदै जानु आवश्यक छ,’ अध्यक्ष पण्डितले भने- ‘त्यसैले आधुनिक सञ्चार जगतमा सामाजिक सञ्जालले पारेको सकारात्मक प्रभाव’ शिर्षकलाई प्रतियोगिताको मुख्य थिम बनाइएको हो।’
तीजको दिन अघिल्ला वर्षहरूमा दमौली बजारमा हुने चहलपहल, समुहगत नाचगान, र मौलिक गीतहरूको प्रस्तुति क्रमशः हराउँदै गएकाले प्रतियोगिताले परम्परालाई पुनः जीवित पार्ने विश्वास गरिएको छ। संस्थाका निर्देशक प्रतापसिं अधिकारीले भने, ‘हामी यसपटक तीजलाई केवल परम्पराको रूपमा नभई डिजिटल युगसँग अनुकूल पारेर जनस्तरसम्म पुर्याउने कोशिस गर्दैछौं।’

प्रतियोगिता सबैका लागि खुला रहनेछ र सामाजिक सञ्जालमै आधारित सन्देशमूलक गीतहरूलाई प्राथमिकता दिइने आयोजकले जनाएका छन्।

























