प्रहार समाचार । तनहुँ, १६ साउन २०८२ शुक्रवार । नेपाली महिलाहरूको महान पर्व हरितालिका तिज नजिकिँदै जाँदा तिज गीतहरूको रचना, रेकर्डिङ र छायाङ्कनले बजार तात्न थालेको छ। यसै सन्दर्भमा तनहुँको दमौलीमा आजबाट तिज गीत ‘कोरियाको लाउरे’ छायाङ्कनको सुरुवात गरिएको छ।

गीतमा अहिलेका चर्चित चकलेटी मोडल लोमश शर्मा मुख्य अभिनय भूमिकामा देखिएका छन्। साथमा बिनु कार्की, सुदीप पौडेल र आरती सुनारको दमदार अभिनयले गीतको दृश्यलाई अझ जीवन्त बनाएको छ।

गीतको लय, शब्द र स्वर आर.सी. विश्वकर्माको रहेको छ भने सहगायकका रूपमा दीपक गैह्रेले साथ दिएका छन्।

गितको अनुभवी निर्देशन सर्जन रानाले गरेका छन्, जसले परदेशमा बसेर पैसा कमाउने तर स्वदेशमै बाँकी रहेको परिवारको पीडा र मानसिक छटपटीलाई गीतमार्फत उजागर गर्ने प्रयास गरेका छन्।

गीतको बोल :
“मेरो बुढा कोरियाको लाउरे हो, पैसाको पिर छैन,
बैश– जोवन ढल्केर गइसक्यो, मन कत्ति थिर छैन।”
भित्रैसम्म छुने भावनाले भरिएको छ, जसले प्रवासमा रुमलिएका हजारौं नेपाली दाजुभाइ तथा तिनका परिवारको वास्तविक मनोविज्ञान प्रस्तुत गर्छ।
यसअघि चर्चित बनेको विश्वकर्माको ‘मगर्नी मोरी’ जस्तै, यो गीतले पनि दर्शक–श्रोतामाझ छुट्टै पहिचान बनाउने अपेक्षा गरिएको छ।

दमौलीका सिर्जनशील व्यक्तित्वहरूमार्फत नै दमौलीमै छायाङ्कन गरिएको यो गीत तनहुँकै कलाकार, मोडलहरूलाई प्राथमिकता दिँदै तयार पारिएको हो। यसले स्थानीय प्रतिभाहरूलाई प्रवर्द्धन गर्ने उद्देश्य बोकेको देखिन्छ।
तेज गतिमा नजिकिँदै गरेको तिजसँगै गीतको सार्वजनिक प्रदर्शन चाँडै हुने तयारी गरिएको छ। निर्माता टोलीले गीतप्रति ठूलो आशा व्यक्त गर्दै भनेको छ, “यो गीतले बजार तताउँछ भन्नेमा हामी विश्वस्त छौं।”

नारी मनका अस्थिरता, परदेशको दूरी र घरपरिवारको भावनालाई गीतले कलात्मक र भावुक शैलीमा प्रस्तुत गर्न खोजेको छ।
‘कोरियाको लाउरे’ केवल तिज गीत मात्र नभई प्रवासी जीवनको कथावाचन पनि हो, जुन परिवारको मायाले टाढा–नजिकको अन्तराललाई समेट्न खोजेको छ ।

























