प्रहार समाचार । काठमाडौं, १६ साउन २०८२ शुक्रवार । आज देशभर साउन १६ गते राष्ट्रिय कोदो दिवसका रूपमा मनाइएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले परम्परागत तथा पोषणयुक्त बालीका रूपमा कोदोलाई संरक्षण र प्रवर्द्धन गर्नुपर्ने आवश्यकता औँल्याउँदै राष्ट्रिय स्तरमै कोदो दिवस मनाउने निर्णय गरिएको जानकारी दिएका छन्।

प्रधानमन्त्री ओलीले कोदो जस्ता अन्न बालीहरू नेपाली समाजको सांस्कृतिक र स्वास्थ्य पक्षसँग गहिरो रूपमा गाँसिएको उल्लेख गर्दै कोदोलाई “भविष्यको पोषणयुक्त बाली”का रूपमा विकास गर्न आह्वान गरेका छन्। कोदोले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न सहयोग पुर्याउनुका साथै हृदय स्वास्थ्यमा पनि लाभदायक हुन्छ। तसर्थ, सरकारले कोदो उत्पादन, प्रशोधन र उपभोगमा जोड दिँदै यसलाई नियमित खाद्य शृंखलामा स्थान दिनुपर्नेमा प्रधानमन्त्रीले जोड दिए।

कोदो दिवसको अवसरमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र विभिन्न संघ–संस्थाहरूले कोदाको महत्वबारे जनचेतना फैलाउने कार्यक्रमहरू सञ्चालन गरेका छन्। स्थानीय तहदेखि संघीय सरकारसम्म कोदो उत्पादनलाई प्राथमिकतामा राख्ने नीति अवलम्बन गरिनु पर्नेमा विज्ञहरू जोड दिँदै आएका छन्। कृषि वैज्ञानिकहरूले कोदोले जलवायु परिवर्तनको सन्दर्भमा पनि अनुकूल बालीका रूपमा स्थान बनाउन सक्ने विश्वास व्यक्त गरेका छन्।


























