प्रहार समाचार । काठमाडौँ,१५ साउन २०८२ बिहीबार । राजधानीको पर्यटकीय क्षेत्र ठमेलबाट प्रहरीले नुवाकोट ककनीका युवराज गुरुङ उर्फ ‘सानुभाइ’लाई पक्राउ गरेको छ। पटक–पटक पक्राउ परे पनि राजनीतिक संरक्षणका कारण छुट्दै आएका गुरुङ यसपटक पनि आपराधिक गतिविधिमा संलग्न रहँदै आएका थिए। उनी लामो समयदेखि त्रास फैलाउने, फिरौती असुली र धम्की जस्ता क्रियाकलापमा सक्रिय रहेको प्रहरी स्रोत बताउँछ।

प्रहरीको रेकर्डअनुसार सानुभाइ कुनै समय चर्चित गुण्डा नाइके कुमार घैंटेको निकटतम सहयोगी थिए। २०७२ साल भदौ ३ गते घैंटे प्रहरी मुठभेडमा मारिएपछि गुरुङले आफूलाई सुरक्षित राख्न ‘बुलेट प्रुफ ज्याकेट’ लगाएर हिँड्न थालेका थिए। उनलाई पछिल्लो पक्राउका क्रममा पनि यस्तो ज्याकेटसहित फेला पारिएको छ, जुन पहिले पनि प्रहरीले बरामद गरेको थियो। यसले उनी अझै पनि आपराधिक भय फैलाउने मनस्थितिमा रहेको संकेत गर्छ।
सानुभाइको गतिविधिमा नेपाली कांग्रेसको आड रहेको खुलेको छ। स्थानीय स्रोतका अनुसार उनी कांग्रेसका केही नेतासँग नजिक रहँदै राजनीतिक पहुँच प्रयोग गरेर पटक–पटक छुट्दै आएका थिए। तर पछिल्लो समय प्रहरी नेतृत्वले राजनीतिक दबाबलाई बेवास्ता गर्दै कडा निगरानीसहित पक्राउ गरेको जनाएको छ। प्रहरीले अब उनलाई विधिसम्मत रूपमा कानुनी कारबाही अघि बढाउने तयारी गरेको छ।


























