प्रहार समाचार । काठमाडौं, ९ साउन २०८२ शुक्रवार । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीको लक्ष्य जनताको आवाज सुन्ने, चाहना पूरा गर्ने र सुशासनमार्फत आर्थिक समृद्ध नेपाल निर्माण गर्नु पर्ने बताएका छन्। राष्ट्रिय विभूति भीमसेन थापाको २५१ औं जन्मजयन्तीका अवसरमा राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले इतिहासले सुम्पिएको दायित्व पूरा गर्न सबैको ध्यान केन्द्रित गरिनुपर्नेमा जोड दिए ।

राष्ट्रपति पौडेलले इतिहासमा पटक–पटक भइरहने षड्यन्त्र र अभिशप्त अवस्थाबाट देशलाई मुक्त गरिनुपर्ने उल्लेख गर्दै अब निष्कपट, खुला र उन्नतशील समाज निर्माण गर्ने दिशामा नेपाल अघि बढिरहेको बताए । राष्ट्रपति पौडेलले आफू निराश होइन, आशावादी रहेको बताउँदै ‘हामी निराशालाई आशामा बदल्न कटिबद्ध छौं।’

भीमसेन थापाको योगदानको स्मरण गर्दै राष्ट्रपति पौडेलले थापाको राजनीतिक दूरदृष्टि, राष्ट्रप्रेम, प्रशासनिक क्षमता र सुधारमुखी कदमहरूले नेपाल स्वतन्त्र र अटल रहन सफल भएको उल्लेख गरे । दक्षिण एसियामा प्रभाव जमाउँदै आएको औपनिवेशिक शक्तिलाई परास्त गर्दै मुलुकको सार्वभौमिकता जोगाउन थापाले देखाएको साहस प्रशंसनीय रहेको राष्ट्रपतिको अभिव्यक्ति थियो । कार्यक्रममा कूटनीतिज्ञ भेषबहादुर थापालाई यस वर्षको ‘भीमसेन थापा पुरस्कार’ प्रदान गरिएको थियो ।

























