हेडलाईनभानुसमाचारगण्डकी

व्यवसायिक किसानसँग गोठ–घरमै पुगेर भेटघाट : भानु नगरपालिकाको नविनतम पहल

प्रहार समाचार । तनहुँ, ९ साउन २०८२ शुक्रवार । भानु नगरपालिकाले व्यवसायिक कृषि तथा पशुपालनमा संलग्न किसानहरूसँग घर–गोठमै पुगेर प्रत्यक्ष अन्तर्क्रिया गर्ने कार्यक्रम सुरु गरेको छ। प्रमुख प्रशासकीय अधिकृत गौतम राज भण्डारीको संयोजकत्वमा सुरु गरिएको यो कार्यक्रमको पहिलो चरणमा वडा नं. ८, ९ र १० का किसानहरूको घर र फर्ममा अवलोकन तथा प्रत्यक्ष संवाद गरिएको छ।

कार्यक्रम अन्तर्गत वडा नं. ८ का दिपक बजगाईंको भैंसीपालन फर्ममा मासिक ५० हजार बराबरको आम्दानी भइरहेको पाइएको छ। त्यस्तै वडा नं. १० का चिरञ्जीवी लौडारीले सञ्चालन गरेको नमूना बाख्रापालन फर्ममा ९० वटा बाख्रा रहेको र सो फर्मबाट मासिक झन्डै ६० हजार आम्दानी भइरहेको प्रतिवेदनमा उल्लेख छ।

वडा नं. १० का अर्का व्यवसायिक किसान रामबाबु भुजेल वैदेशिक रोजगारीबाट फर्किएपछि एकीकृत कृषि तथा पशुपालनमार्फत आत्मनिर्भर जीवन यापन गरिरहनुभएको छ। उहाँले भैँसी, गाई, बाख्रा, मौरीपालन, मेवा, कागती लगायत तरकारी खेतीसमेत गरी समृद्ध कृषिको उदाहरण प्रस्तुत गर्नुभएको छ।

कार्यक्रमका संयोजक एवं प्रमुख प्रशासकीय अधिकृत गौतम राज भण्डारीले कृषिमा आधारित नगर अर्थतन्त्र बलियो बनाउनको लागि हामी किसानहरूको घर–गोठमै पुगेर समस्याको पहिचान गर्दै प्राविधिक सहयोग गरिरहे को बताउँछन्। ‘किसानको प्रगति नै पालिकाको समृद्धिको आधार हो भन्ने मान्यताका साथ यो कार्यक्रम अघि बढाइएको हो।’ – प्रमुख प्रशासकीय अधिकृत भण्डारीले भने ।

भेटघाटका क्रममा किसानहरूले भोगिरहेका व्यावहारिक समस्याहरू अवलोकन गरिनुका साथै कृषि तथा पशुपालन प्राविधिकहरूबाट आवश्यक परामर्श पनि दिइएको थियो। समस्याको समाधान, उत्पादन वृद्धि र बजार व्यवस्थापनका विषयमा सुझावहरू पनि प्रदान गरिएको भानु नगरपालिकाले जनाएको छ। नगरपालिकाले कार्यक्रमलाई आगामी दिनमा अन्य वडाहरूमा पनि विस्तार गर्दै लैजाने योजना बनाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button