हेडलाईनसमाचारगण्डकी

मनाङमा जडिबुटी संकलनबाट झन्डै ३६ लाख राजस्व संकलन

• विजय अधिकारी (प्रहार संवाददाता ) । मनाङ, ९ साउन २०८२ शुक्रवार । हिमाली जिल्ला मनाङमा चालु आर्थिक वर्ष २०८१/०८२ मा जडिबुटी संकलन र निकासीबाट र ३५ लाख ९१ हजार ८ सय ४१ रुपैयाँ राजस्व संकलन गरिएको छ।

एक्याप इलाका संरक्षण कार्यालय मनाङका प्रमुख ढकबहादुर भुजेलका अनुसार सबैभन्दा बढी राजस्व यार्सागुम्बाबाट उठाइएको हो। उनका अनुसार गत वर्ष १ सय १२.६९३ किलोग्राम यार्सागुम्बा निकासीबाट मात्रै ३४ लाख ८५ हजार ९० रुपैयाँ राजस्व संकलन भएको हो।

त्यस्तै वन लसुन ३ हजार १ सय ८६.३०० किलोग्राम निकासी गरी ९७ हजार ७ सय ५० र जिम्बु ९ सय १० किलोग्राम निकासीबाट र ९ हजार १ राजस्व संकलन गरिएको थियो।

यसअघि आर्थिक वर्ष २०८०/०८१ मा यार्सागुम्बा, वन लसुन, जिम्बु र गुची च्याउ निकासी गरिएको थियो। त्यस वर्ष ७२.५४२ किलोग्राम यार्सागुम्बा निकासीबाट २२ लाख ४८ हजार ९०२, वन लसुन २,२०५ किलोग्राम निकासीबाट ६६ हजार १५०, जिम्बु ९ सय ३३ किलोग्राम निकासीबाट १० हजार २८० र गुची च्याउ ४ किलोग्राम निकासीबाट २ हजार राजस्व संकलन भएको थियो। त्यसअनुसार कुल राजस्व २३ लाख २७ हजार ३३२ थियो।

प्रमुख भुजेलका अनुसार यस वर्ष केही जडिबुटीको निकासी नभए पनि यार्सागुम्बा र वनलसुनको परिमाण वृद्धि भएकोले कुल राजस्वमा उल्लेख्य वृद्धि देखिएको हो।

यस वर्ष यार्सागुम्बा संकलनका लागि मनाङ जिल्लाकै ४ सय ८८ जना स्थानीयवासी र १ हजार ३६ जना बाह्य व्यक्ति तथा वन लसुनका लागि २ सय १४ स्थानीय र ७ सय १५ बाह्य व्यक्तिले अनुमति (पुर्जी) लिएको कार्यालयले जनाएको छ।

यस्ता जडिबुटीहरूको संकलनले मनाङ जिल्लाको स्थानीय अर्थतन्त्रमा ठुलो भूमिका खेलेको प्रमुख भुजेलको भनाइ छ। उनका अनुसार जडिबुटीको वैज्ञानिक र दिगो संकलनमार्फत राजस्व अभिवृद्धि मात्र होइन, स्थानीय रोजगारी र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने सम्भावना पनि बढेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button