हेडलाईनसमाचारप्रदेश

आरोपीको गोपनीयता सुरक्षित गर्न प्रहरीलाई निर्देशन : विशेष अवस्थामा मात्रै तस्वीर सार्वजनिक गर्न मिल्ने

प्रहार समाचार । काठमाडौं, ७ साउन २०८२ बुधवार । अबदेखि प्रहरीले कुनै पनि पक्राउ परेका आरोपितको तस्वीर तथा भिडियो सार्वजनिक गर्न नपाउने भएको छ। प्रहरी प्रधान कार्यालयले मातहतका सबै युनिटलाई परिपत्र गर्दै आरोपितको गोपनीयता कायम राख्न निर्देशन दिएको हो। यसअघि आरोपितलाई पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिँदै आइए पनि अब उक्त अभ्यासमा रोक लगाइएको छ।

प्रहरीको यो निर्णय गत असार १९ गते महान्यायाधिवक्ता कार्यालयले सार्वजनिक गरेको निर्देशनसँग मेल खान्छ। उक्त निर्देशनमा आरोपितको तस्वीर वा भिडियो सार्वजनिक गर्दा निष्पक्ष अनुसन्धान र न्यायिक प्रक्रियामा असर पर्न सक्ने भन्दै गोपनीयता सुनिश्चित गर्न भनिएको थियो। महान्यायाधिवक्ता कार्यालयले निर्देशनको जानकारी प्रहरी प्रधान कार्यालयलाई गराएपछि त्यसको कार्यान्वयनस्वरूप परिपत्र जारी गरिएको हो।

तर, अपराधको प्रकृति र समाजमा पर्न सक्ने असरलाई विचार गर्दै प्रहरीले केही लचिलो उपाय पनि खुला राखेको छ। प्रहरीका अनुसार यदि कुनै आरोपी जघन्य अपराधमा संलग्न देखिएको छ र उसको तस्वीर वा भिडियो सार्वजनिक नगर्दा समाजलाई थप हानि हुन सक्छ भने प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागको स्वीकृति लिएर मात्रै सार्वजनिक गर्न सकिनेछ। यसबाट गोपनीयता र सार्वजनिक हितको सन्तुलन कायम गर्ने प्रयास देखिन्छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button