हेडलाईनव्याससमाचारगण्डकी

व्यास नगरको आन्तरिक आय लक्ष्य ९८.७४ प्रतिशत प्राप्त : विकास योजनामा तीव्रता दिने निर्णय

प्रहार समाचार । तनहुँ, ७ असार २०८२ बुधवार । तनहुँको व्यास नगरपालिकाले आर्थिक वर्ष ०८१/८२ का लागि तय गरेको र१८ करोड आन्तरिक आयमध्ये ९८.७४ प्रतिशत संकलन गर्न सफल भएको छ। नगर प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा बुधबार सम्पन्न नगर कार्यपालिकाको २२० औं बैठकले आन्तरिक राजस्व संकलनमा उल्लेखनीय प्रगति भएको भन्दै राजस्व परामर्श समिति, वडा समिति, कर्मचारी तथा करदाताहरूप्रति धन्यवाद ज्ञापन गरेको छ। बैठकले विकास योजनामा तीव्रता ल्याउने निर्णयसँगै विभिन्न महत्त्वपूर्ण विषयमा निर्देशन तथा निर्णयहरू गरेको छ।

बैठकले विश्व बैंकको सहयोगमा शहरी विकास मन्त्रालयअन्तर्गत प्राप्त १२ करोड बजेटबाट व्यास–६ स्थित महेन्द्री मार्ग र व्यास १३, १४ क्षेत्रअन्तर्गत दमौली–केशवटार मोटर मार्गको स्तरीकरणका लागि विस्तृत लागत अनुमान तथा वातावरणीय र सामाजिक अध्ययन प्रतिवेदन तयार गर्न पूर्वाधार तथा योजना शाखालाई निर्देशन दिएको छ।

आर्थिक वर्ष ०८२/८३ का योजनाहरू कार्यान्वयन गर्न उपभोक्ता समिति गठन, प्रशिक्षण, सम्झौता तथा ठेक्का प्रक्रिया अघि बढाउने कार्यतालिका पारित गरिएको छ। त्यस्तै, योजनाहरूमा तनहुँ जिल्लाका दररेटहरू नै लागू गर्ने निर्णय गरिएको छ।

४३ औं नगरसभाबाट पारित कार्यविधिहरू र ऐनअनुसार आवश्यक संशोधनको प्रस्ताव अगामी बैठकमा पेश गर्न विधायन समितिलाई निर्देशन दिइएको छ। प्रमुख प्रशासकीय अधिकृतलाई कर्मचारीहरूको कार्यसम्पादन समीक्षा गरी सुशासन समितिको सिफारिसअनुसार व्यवस्थापन मिलाउने जिम्मेवारी दिइएको छ ।

दमौली सभाहलको भुइँतल्ला (अन्डरग्राउन्ड) सशुल्क पार्किङमा विद्युतीय सवारीसाधनको संख्यामा वृद्धि भएकाले चार्जिङ सुविधा उपलब्ध गराउने विषयमा ७ दिनभित्र रायसहितको प्रतिवेदन पेश गर्न पूर्वाधार विकास समितिलाई निर्देशन दिइएको छ।

एसियाली विकास बैंकको सहयोगमा सञ्चालित आन्तरिक आय र योजनाबद्ध विकास अभियान सशक्तिकरण परियोजनाअन्तर्गत विज्ञहरूसँगको परामर्श बैठक यही साउन ८ गते बिहान ११ बजे नगरपालिका बैठककक्षमा हुने तय भएको छ। सो बैठकमा कार्यपालिका सदस्य, राजस्व परामर्श समिति सदस्य तथा सम्बन्धित शाखाका कर्मचारीहरूको अनिवार्य उपस्थिति सुनिश्चित गर्न अनुरोध गरिएको छ।

नगर प्रवक्ता तथा वडा नं. ९ का अध्यक्ष सुरेश थापाले बैठकका निर्णयहरू सार्वजनिक गर्दै समग्र कार्यसम्पादन र विकास प्रक्रिया प्रभावकारी रूपमा अघि बढ्ने विश्वास व्यक्त गरेका छन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button