हेडलाईनसमाचारप्रदेश

आज तुलसी रोप्ने हरिशयनी एकादशी : धार्मिक आस्था र परम्पराको समन्वय

प्रहार समाचार । तनहुँ, २२ असार २०८२ आइतवार । आज हिन्दू धर्मावलम्बीहरूले विशेष आस्थाका साथ हरिशयनी एकादशी तथा तुलसी रोप्ने पर्व मनाइरहेका छन् । आषाढ शुक्ल एकादशीका दिन पर्ने यो पर्वलाई ‘देवशयनी एकादशी’ पनि भनिन्छ । धार्मिक मान्यताअनुसार यही दिनदेखि भगवान् विष्णु क्षीरसागरमा शयन गर्न लाग्ने भएकाले उनलाई विश्रामको समय मानिन्छ । तुलसी रोपेर विष्णुको पूजा गरेमा चार महिनासम्मको पुण्य प्राप्त हुने धार्मिक विश्वास रहेको संस्कृतविद्हरू बताउँछन् ।

वेद, पुराण र धर्मशास्त्रमा वर्णन भएअनुसार हरिशयनी एकादशीदेखि चातुर्मास आरम्भ हुने मानिन्छ । यो अवधिभर ब्रह्मचारी, साधु–सन्त तथा श्रद्धालुहरूले व्रत बसी धर्मकर्ममा लाग्ने परम्परा छ । यस दिन तुलसीको बिरुवा घरको पवित्र स्थानमा रोप्ने गरिन्छ । विज्ञहरूका अनुसार तुलसीलाई लक्ष्मीको रूप मानिने भएकाले यसलाई रोप्दा घरमा समृद्धि र शुद्धता आउने विश्वास छ । विशेषगरी घरको तुलसी मठमा पूजा गरी दीप प्रज्वलन, आरती तथा भजनगान गर्ने परम्परा छ ।

हरिशयनी एकादशीको दिनदेखि विशेष पर्वहरू सुरु हुने भएकाले यो दिन धार्मिक दृष्टिले निकै महत्वपूर्ण मानिन्छ । आजको दिनमा हिन्दू धर्मावलम्बीहरूले उपवास, दान–पुण्य, तुलसी रोपण तथा विष्णुका मन्त्रहरूको जप गरेर धार्मिक आस्था प्रकट गर्दछन् । यो चारमहिने अवधिमा विवाह, ब्रतबन्ध, गृहप्रवेशजस्ता शुभकार्य नगर्ने चलन छ । धार्मिक परम्परा, प्रकृतिप्रतिको सम्मान र आरोग्यको सन्देश बोकेको यो पर्वले सनातन संस्कृतिको एक अमूल्य पक्ष उजागर गर्ने विज्ञहरूको मत छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button