प्रहार समाचार । तनहुँ, २२ असार २०८२ आइतवार । तनहुँको व्यास नगरपालिकाले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा एसईईमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई सम्मान गरेको छ। आज दमौलीस्थित सभाहलमा आयोजित कार्यक्रममा नगर प्रमुख बैकुण्ठ न्यौपाने, उप–प्रमुख इन्दिरा दरै, प्रमुख प्रशासनिक अधिकृत काशीराम गैरे, वडा अध्यक्ष, कार्यपालिका सदस्य, शिक्षक महासंघ तनहुँका अध्यक्ष चन्द्रमणी कोइराला लगायतले विद्यार्थीहरुलाई सम्मान गरेका हुन् ।

२०८१ को परीक्षामा व्यास नगरपालिकाको सफलता दर ७५ दशमलव ०७ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको ४५ दशमलव ०८ प्रतिशत थियो । गत वर्षको तुलनामा यो ३० प्रतिशतले बढी हो।

त्यस अबसरमा बोल्दै व्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेले नगरको शिक्षामैत्री नीतिको प्रभाव, विद्यालयहरूसँगको सहकार्य र विद्यार्थीको अनुशासन तथा मेहनतले ल्याएको सकारात्मक परिवर्तनको संङ्केत रहेको बताए। नगर प्रमुखले विद्यार्थीहरूलाई निरन्तर परिश्रम, अनुशासन र सकारात्मक सोचका साथ अघि बढ्न आग्रह गरेका थिए ।

उक्त अवसरमा सामुदायिक विद्यालयतर्फबाट सत्यवती मा.वि.की अन्वेशिका शर्माले ३.९८ जिपीए प्राप्त गर्दै उच्चतम नतिजा हासिल गरिन् भने संस्थागत विद्यालयतर्फ शान्ति वर्षा मा.वि.की स्नेहा गिरिले ४.०० जिपीए ल्याएर सर्वोत्कृष्ट स्थान प्राप्त गरिन्। यसैगरी ३.९० जिमीए भन्दा माथि ल्याउने २१ विद्यार्थीमध्ये १६ जना सत्यवती माध्यमिक विद्यालयबाट, २–२ जना शान्ति वर्षा र पराशर मा.वि. बाट तथा १ जना गोरखकाली आवासीय विद्यालयबाट रहेका छन्।
























