प्रहार समाचार । काठमाडौं, २२ असार २०८२ आइतवार । हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहँदा अधिकांश स्थानमा मौसम बदली रहने र कतिपय ठाउँमा भारी वर्षासमेत हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेकाले आजको दिनभर मौसम आंशिकदेखि साधारण बदली रहनेछ।

कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यस्तै, कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भने भारी वर्षा हुने सम्भावना रहेको छ। साथै, देशको उच्च पहाडी तथा हिमाली भूभागमा पनि केही स्थानमा वर्षासँगै हिमपात हुने पूर्वानुमान गरिएको छ।
राति मौसम अझ सक्रिय हुने संकेत दिँदै विभागले बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरैजसो स्थानमा बदली रही हल्कादेखि मध्यम वर्षा हुने सम्भावना औंल्याएको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भने भारीदेखि धेरै भारी वर्षाको चेतावनी दिइएको छ। अत्यधिक वर्षाको सम्भावनाले गर्दा पहिरो, बाढी तथा डुबानको जोखिम पनि बढ्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
























