प्रहार समाचार । दमास्कस, २१ असार २०८२ शनिवार । गाजा क्षेत्रमा इजरायली फौजले पुनः भीषण हवाई आक्रमण गर्दै कम्तीमा ४२ जना प्यालेस्टिनी नागरिकको ज्यान लिएको छ। अलजजिराका अनुसार आक्रमणमा खाद्यान्नको प्रतीक्षा गरिरहेका सर्वसाधारणलाई निशाना बनाइएको हो।

दक्षिण गाजाको अल-मावासी क्षेत्रमा विस्थापितका टेन्टहरूमा गरिएको बमबारीमा गाइनोकोलोजी विशेषज्ञ डा. मूसा हमदान खाफाजा, उनका तीन सन्तान र अन्य परिवारका सदस्यहरू मारिए। उल्लेखनीय कुरा के छ भने उक्त क्षेत्रलाई इजरायलले मानवीय क्षेत्रको रूपमा घोषणा गरेको थियो।
युद्धले गाजाको स्वास्थ्य प्रणाली झनै धराशायी बनाइरहेको छ। गाजाको सरकारी सञ्चार कार्यालयका अनुसार सन् २०२३ को अक्टोबर ७ यता १,५८० भन्दा बढी स्वास्थ्यकर्मीको मृत्यु भइसकेको छ, जसमा ९० चिकित्सक र १३२ नर्स छन्। अस्पतालहरू घाइतेहरूको उपचार गर्न असमर्थ बन्दै गएका छन्।
यता हमासले भने ६० दिन लामो युद्धविराम प्रस्तावबारे तत्काल वार्ताका लागि तत्पर रहेको जनाएको छ। हमासको सहयोगी समूह इस्लामिक जिहादले पनि प्रस्तावलाई समर्थन जनाउँदै स्थायी युद्धविराम सुनिश्चित हुनुपर्ने शर्त अघि सारेको छ। यो घोषणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको युद्ध अन्त्यको दबाब र इजरायली प्रधानमन्त्री नेतन्याहूको आसन्न वासिङ्टन भ्रमणको सन्दर्भसँग पनि जोडिएको छ।




















