प्रहार समाचार । तनहुँ, २१ असार २०८२ शनिवार । स्वरोजगार तथा विभिन्न पेशा व्यवसायमा संलग्न भएका पूर्व विद्यार्थीहरूको सम्मान गर्ने उद्देश्यले आदिकवि भानुभक्त क्याम्पस, दमौलीमा आयोजना गरिएको “स्वरोजगार एवं रोजगार विद्यार्थी सम्मान कार्यक्रम” आज क्याम्पस सेमिनार हलमा भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रममा बोल्दै व्यास नगरपालिका प्रमुख एवं पूर्व क्याम्पस प्रमुख बैकुण्ठ न्यौपानेले कक्षाकोठाबाट प्राप्त ज्ञान, सीप, योग्यता र क्षमतालाई व्यवहारिक रूपमा प्रयोग गरी समुदाय र क्याम्पसका लागि स्मरणीय कार्य गर्न पूर्व विद्यार्थीहरूलाई आग्रह गरे। उनले क्याम्पसलाई समाज रूपान्तरणको माध्यम बनाउँदै व्यक्तिगत जीवनमा पनि उत्कृष्टता हासिल गर्न सकिने बताए।


कार्यक्रममा पूर्व विद्यार्थी एवं ललितपुर जिल्ला प्रहरी कार्यालय प्रमुख एसएसपी श्यामकृष्ण अधिकारी, नेपाल प्रशासनिक प्रतिष्ठानका अध्ययन निर्देशक तुलसी शरण सिग्देल, कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिला, महिला कानुन व्यवसायी एवं गिता आचार्य लगायतले क्याम्पसप्रति गर्व व्यक्त गर्दै यस्ता कार्यक्रमले नयाँ पुस्तालाई प्रेरणा दिने बताएका थिए। साथै अन्य पूर्व विद्यार्थीहरूले पनि क्याम्पसप्रति आभार व्यक्त गर्दै आफ्ना अनुभवहरू प्रस्तुत गरेका थिए।


कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठले पूर्व विद्यार्थीहरूको उपस्थितिले क्याम्पस परिवारलाई थप हौसला दिएको उल्लेख गर्दै क्याम्पसका उपलब्धिहरूको श्रेय समुदाय, प्राध्यापक र विद्यार्थीलाई जाने बताए।

कार्यक्रममा आर्थिक समितिका संयोजक गोपाल सुर्खाली, पुस्तकालय व्यवस्थापन समितिका संयोजक मोहन गिरी, सञ्चालक समितिका सदस्य ऋषिराम ढुङ्गाना, रामजी लौडारी, निर्मल पण्डित, विद्यालय प्रमुख दिलिप पोख्रेल लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा क्याम्पस प्रमुख महाप्रसाद हडखाले पूर्व विद्यार्थीहरू क्याम्पसका सुगन्ध भएको र उनीहरूले आफू प्राप्त गरेको ज्ञान र सीप प्रयोगमा ल्याउँदा क्याम्पसको प्रतिष्ठा समुदायसम्म फैलिएको बताउँदै उनीहरूले सदा क्याम्पसको राजदूतको भूमिका निर्वाह गर्ने उल्लेख गरे। उनले क्याम्पसले विपन्न, अपाङ्ग, दलित, जनजाति, दुर्गम क्षेत्रका विद्यार्थीलाई उच्च शिक्षामा पहुँच पुर्याएकोमा गर्व व्यक्त गरे।

उक्त अवसरमा शिक्षण पेशामा संलग्न बिमला दुराले निम्न आय भएका विद्यार्थीहरूलाई छात्रवृत्तिका लागि क्याम्पसलाई नगद १० हजार ५ सय रुपैयाँ प्रदान गरेकी थिइन्। कार्यक्रममा स्वरोजगार तथा रोजगारीमा संलग्न १ सय २८ जना पूर्व विद्यार्थीहरूलाई सम्मान गरिएको थियो।

क्याम्पसले प्रत्येक वर्ष स्वरोजगार तथा रोजगारीमा प्रतिस्थापित विद्यार्थीहरूलाई सम्मान गर्दै आएको छ। क्याम्पसका अनुसार हरेक वर्ष झण्डै ३ सय विद्यार्थी तह पार गर्छन्, जसमा करिब ९७ प्रतिशत विद्यार्थी स्वदेश वा विदेशमा रोजगारीमा प्रतिस्थापित छन्। कार्यक्रमको सहजीकरण सहायक क्याम्पस प्रमुख डा. रामकुमार अधिकारीले गरेका थिए। कार्यक्रम क्याम्पसको विद्यार्थी गुनासो परामर्श तथा रोजगार प्रतिस्थापन समितिको आयोजनामा सम्पन्न भएको हो।

























