प्रहार समाचार । भोजपुर , २२ असार २०८२ आइतवार । भोजपुर जिल्लाको रामप्रसादराई गाउँपालिका–२ धोद्लेखानीमा गएराति एक हृदयविदारक घटना भएको छ । एकै परिवारका चार सदस्यको धारिलो हतियार प्रयोग गरी हत्या भएपछि स्थानीय समुदाय शोकमा डुबेको छ । घटना आइतवार राति करिब १:१५ बजे भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले पुष्टि गरेको छ ।

प्रहरीका अनुसार घटनामा संलग्न रहेको आशंकामा भोजपुर नगरपालिका–२ हेलौँछा घर भएका ३० वर्षीय राजेन्द्र राईलाई गम्भीर घाइते अवस्थामा उद्धार गरिएको छ । उनले आफ्नी श्रीमती मनिषा गिरी, ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, ४५ वर्षीया सासू मञ्जु गिरी र २२ वर्षीय सालो सपन गिरीको हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । पेटमा तीन स्थानमा छुरा प्रहार भएर गम्भीर घाइते भएका राईलाई उपचारका लागि भोजपुर अस्पतालमा भर्ना गरिएको छ ।

स्थानीयका अनुसार मनिषा केही दिनदेखि माइती घरमा बसेकी थिइन् । श्रीमतीलाई लिन ससुराली पुगेका राई र उनका माइती पक्षबीच के कारणले विवाद भयो भन्ने स्पष्ट भइनसके पनि त्यसकै क्रममा भयानक घटना घटेको अनुमान गरिएको छ । प्रहरीले घटनाको गम्भीरताका साथ अनुसन्धान अघि बढाएको जनाएको छ ।
























