प्रहार समाचार । काठमाडौँ, २१ असार २०८२ शनिवार । एएफसी महिला एसियन कपको छनोटमा नेपाल र उज्वेकिस्तानबीच आज राति निर्णायक भिडन्त हुँदैछ । उज्वेकिस्तानको मिलि स्टेडियममा हुने यो खेल राति ९:१५ बजेबाट सुरु हुनेछ । समूह ‘एफ’ अन्तर्गतको यो अन्तिम खेल दुवै टोलीका लागि ‘डु अर डाइ’ बनेको छ, जसले जित्छ उसैले अष्ट्रेलियामा आयोजना हुने एसियन कपको यात्रा तय गर्नेछ ।

नेपाल र उज्वेकिस्तान दुवै टोलीले यसअघि आफ्ना विपक्षीहरूलाई फराकिलो गोल अन्तरले पराजित गरेका छन् । नेपालले लाओसलाई ९–० र श्रीलंकालाई ८–० ले हराएको हो भने उज्वेकिस्तानले श्रीलंकालाई १०–० र लाओसलाई ७–० ले पराजित गरेको हो । यति हुँदा हुँदै पनि फिफा वरियतामा उज्वेकिस्तान नेपालभन्दा ४९ स्थान माथि रहेकोले उनीहरूलाई सजिलो प्रतिद्वन्द्वी मान्न सकिंदैन ।
यदि निर्धारित ९० मिनेटमा खेल बराबरीमा टुंगियो भने विजेता टुंग्याउन टाइब्रेकरसम्म जानुपर्नेछ । यस खेलमा जित निकाल्ने टोलीले मात्र एसियन कपमा स्थान सुरक्षित गर्नेछ भने पराजित हुने टोलीको यात्रा यहीँ सकिनेछ । नेपालका लागि यो खेल फाइनलसरह बनेको छ, जहाँ जित्न बाहेक अर्को विकल्प छैन ।
























