प्रहार समाचार । काठमाडौँ, २१ असार २०८२ शनिवार । देशभर सक्रिय मनसुनको प्रभावले गर्दा हाल कोशी प्रदेशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गएराति नुवाकोट, सिन्धुपाल्चोक र रामेछापमा उल्लेख्य मात्रामा वर्षा भएको थियो। हाल न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेकाले वर्षाको सम्भावना उच्च रहेको जनाइएको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ। बाँकी प्रदेशका थोरै स्थानमा पनि वर्षाको सम्भावना रहेको छ। विशेषगरी कोशी र बागमतीका पहाडी भूभागमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।
राति कोशी, बागमती, गण्डकी र लुम्बिनीका धेरै स्थानहरूमा समेत मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। ती प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आम सर्वसाधारणलाई आग्रह गरिएको छ।
























