हेडलाईनसमाचारप्रदेश

भिजिट भिसा प्रकरण: संसदमा रास्वपा–कांग्रेसबीच तिखो जुहारी, सदन बहिष्कार

प्रहार समाचार । काठमाडौं, १५ असार २०८२ आइतवार । भिजिट भिसा प्रकरणको अनुसन्धानका लागि उच्चस्तरीय छानविन आयोग गठनको मागसहित उठेका रास्वपा र राप्रपाका सांसदहरू र प्रमुख विपक्षी दल कांग्रेसबीच प्रतिनिधिसभामा तीव्र आरोप–प्रत्यारोप भएको छ। आइतबारको बैठक सुरु हुँदै गर्दा विरोध स्वरूप उठेका सांसदहरूलाई सभामुख देवराज घिमिरेले रास्वपा सांसद डिपी अर्याललाई बोल्न समय दिएपछि विषयले राजनीतिक ताप लिन थालेको हो।

सांसद अर्यालले अघिल्लो बैठकमा कांग्रेस सांसद रामहरि खतिवडाले आफूलाई झूटो आरोप लगाएको भन्दै कडा आपत्ति जनाए। सुमिरे टुर्स एण्ड ट्राभल्स आफ्नो कम्पनी भएको स्वीकार गर्दै उनले “एक जना मान्छे भिजिट भिसामा गएर नफर्केको प्रमाण दिनुस्” भन्दै चुनौती दिए। “म देशमा बसेर केही गरेर खाने मान्छे हुँ, चोरेर खाने होइन,” भन्दै अर्यालले खतिवडाको अभिव्यक्ति संसद् रेकर्डबाट हटाउन माग गरे।

अर्यालको भनाइपछि जवाफमा उठेका सांसद खतिवडाले आफूले कसैको नाम नलिएको दाबी गर्दै “चोरको खुट्टा काट भन्दा झिकेजस्तो” भनेका थिए। उनले भिजिट भिसा प्रकरणसँगै २०९ म्यानपावर कम्पनीलाई अवैध रूपमा अनुमति दिने विषयमा समेत छानविन हुनुपर्ने माग गरे।

दुबै सांसदबीचको तिक्त बहसपछि सभामुख घिमिरेले गैरसंसदीय भाषा त्यागी जिम्मेवार ढंगले सदनमा प्रस्तुत हुन आग्रह गर्दै संयमता अपनाउन निर्देशन दिए। तर असन्तुष्ट रास्वपा र राप्रपाका सांसदहरूले सदन बहिष्कार गरेका छन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button