हेडलाईनसमाचारगण्डकीशुक्लागण्डकी

सामाजिक कुरीति विरुद्ध शुक्लागण्डकीमा सचेतनामूलक अभियान : दाइजो, बालविवाह र लैङ्गिक हिंसामाथि सशक्त सन्देश

प्रहार समाचार । तनहुँ ,१५ असार २०८२ आइतबार ।शुक्लागण्डकी नगरपालिका स्थित हंसवाहिनी माध्यमिक विद्यालयमा आज लैङ्गिक हिंसा, बाल विवाह, दाइजो प्रथा, जातीय भेदभाव, मानव वेचविखन तथा ओसारपसार जस्ता परम्परागत हानिकारक अभ्यासहरू न्यूनीकरण गर्ने उद्देश्यले ‘सामाजिक कुरीति विरुद्धको अभियान’ सञ्चालन गरिएको छ। तस्बिरहरु: प्रहार अनलाईन मिडिया ।

गण्डकी प्रदेश सरकार अन्तर्गतको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको समन्वयमा, सामाजिक विकास कार्यालय तनहुँ र शुक्लागण्डकी नगरपालिका तथा हंसवाहिनी माविको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमको सहजीकरण सरस्वती नमूना माविले गरेको थियो।

कार्यक्रमको प्रमुख आकर्षण सामाजिक कुरीतिविरुद्धको सचेतनामूलक नाटक मञ्चन रहेको थियो। सरस्वती नमूना माविका विद्यार्थीहरु शर्मिला बि. क., अनुप थापा, मधु जैसवाल, प्रमिला बि .क., मुस्कान बि .क. लगायतको जीवन्त अभिनयले दर्शकहरूमा गहिरो प्रभाव पारेको थियो।

नाटकमार्फत बालविवाह, दाइजो प्रथा, महिलामाथिको हिंसा, पुरुषको बाँझोपनका कारण महिलालाई दोष दिने प्रवृत्ति, तथा बोक्सी आरोपजस्ता सामाजिक विकृति–विसंगतिहरूलाई उजागर गरिएको थियो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ध्रुवराज पौडेल, विद्यालयका प्रधानाध्यापक कविराज खनाल, सरस्वती माविका वाल संरक्षक शिक्षक अनिता अधिकारी, प्रहार अनलाइन मिडियाका सम्पादक शंकरराज नहर्की लगायतको सहभागिता रहेको कार्यक्रमलाई जिल्ला वाल अधिकार समितिका अध्यक्ष मायाँ रानाले नेतृत्व दिएकी थिइन्।

कार्यक्रमको क्रममा सामाजिक विकास कार्यालय तनहुँका प्रमुख बिदुरहरि आचार्यले समाजमा अझै पनि गढेका हानिकारक परम्पराहरूलाई उखेलेर नयाँ पुस्तालाई सुरक्षित र समान अवसरयुक्त वातावरण दिन यस्ता सचेतनामूलक अभियान अत्यन्त आवश्यक रहेको बताए ।

सामाजिक कुरीति विरुद्धको यो अभियानले सहभागी विद्यार्थी, शिक्षक, अभिभावक र समुदायमा प्रभावकारी सन्देश प्रवाह गरेको सहभागीहरूको भनाइ छ। विद्यालयस्तरमै यस्ता कार्यक्रम आयोजनाले दीर्घकालीन रुपमा सकारात्मक सामाजिक परिवर्तनको ढोका खोल्ने अपेक्षा गरिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button