हेडलाईनसमाचारप्रदेश

आज असार १५ : धान दिवसको हर्ष, खेतीको पिडा : असारे उल्लासभित्र लुकेको कृषकको चिसो यथार्थ

• शंकरराज नहर्की/ तनहुँ, १५ असार २०८२ आइतवार । नेपालभर आज ‘असार १५’,२२औ धान दिवसको रूपमा खेतमा रोपाइँ गर्दै दही चिउरा खाई मनाइँदै छ। खेतको छेउमै असारेगीत गाउँदै, हिलो छ्यापाछ्याप गर्दै ख रमाइरहेका युवा–युवतीहरूको दृश्यले कृषिप्रति हाम्रो सांस्कृतिक नाता झल्काउँछ। तर, यस उल्लासमय क्षणभित्र वर्षा अभाव, मल संकट, र कृषकको श्रमको अवमूल्यनजस्ता गहिरा यथार्थ पनि लुकेका छन्।

कृषिप्रधान देश नेपालमा असार महिना रोपाइँको मुख्य समय हो। किसान वर्षभरका लागि छाक जुटाउने आशाले यति बेला खेतमा पसिना बगाइरहेका छन्। सरकारी तथ्यांकअनुसार सन् २००५ (वि.सं. २०६२) देखि धान दिवसको रूपमा मनाउन थालिएको असार १५ ले कृषि जनजीवनसँगको ऐतिहासिक र सांस्कृतिक सम्बन्धलाई उजागर गरेको छ।

आजको दिन खेतमा दही चिउरा खाने चलन मात्र नभई सामाजिक ऐक्यबद्धताको प्रतीक पनि हो। वैज्ञानिक दृष्टिले पनि दही स्वास्थ्यका लागि लाभदायक मानिन्छ। आयुर्वेदमा मोहीलाई औषधि सरह मानिएको छ भने पुरातात्विक विश्वास अनुसार पृथ्वीनारायण शाहलाई पराक्रमी बन्न गोरखनाथले दही खुवाएको किंवदन्ती पाइन्छ।

तर यता, असारको मध्यसम्म आइपुग्दा अधिकांश भेगमा पर्याप्त वर्षा नहुनु, कतिपय स्थानमा मल अभाव हुनु, र कृषकको श्रमले अपेक्षित मूल्य नपाउनुले खेतीलाई पुनः संकटतर्फ धकेलेको छ। किसानहरू अहिले पनि मल पाइँदैन, पानी छैन, बीउ समयमै उमार्न सकिएन भन्ने गुनासो गरिरहेका छन्। सरकार भने “पर्याप्त मल मौज्दातमा छ” भनेर सफाइ दिइरहेको छ।

यति ठूलो परिश्रम र संस्कृतिक समर्थन हुँदाहुँदै पनि खेती आजसम्म पनि श्रमको सम्मान र उचित प्रतिफलबाट टाढा रहेको यथार्थ हो। छुपु–छुपु हिलोमा धान रोप्ने दृश्य रोमाञ्चक देखिए पनि त्यो हिलोलाई खनेर निस्कने आवाजमा राज्यबाट अपेक्षित सहयोगको चित्कार मिसिएको छ।

धान दिवस हर्षको पर्व हो । तर, त्यसभित्र कृषकको संघर्ष, जलवायु परिवर्तनको असर, कृषि नीतिको अस्पष्टता, र ग्रामीण श्रमको अपहेलन जस्ता धेरै कुराहरु तकारोको रूपमा रहेको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button