प्रहार समाचार । तनहुँ, २ असार २०८३ मंगलबार । जिल्ला प्रहरी कार्यालय तनहुँले जेठ महिनाभर सञ्चालन गरेका सुरक्षा, अपराध नियन्त्रण तथा समुदाय–प्रहरी साझेदारी कार्यक्रमहरूको प्रगति विवरण सार्वजनिक गरेको छ। सार्वजनिक तथ्याङ्कअनुसार जेठ महिनामा जिल्लाभर ५१ वटा मुद्दा दर्ता भएका छन् भने ३७ जना चालु मुद्दाका प्रतिवादी पक्राउ परेका छन्। प्रहरीका अनुसार दर्ता भएका मुद्दामध्ये जघन्य तथा गम्भीर अपराधका १०, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित ३, आर्थिक अपराधका ६ र अन्य प्रकृतिका ३२ मुद्दा रहेका छन्।

फैसला कार्यान्वयनतर्फ ११ जना फरार प्रतिवादी पक्राउ परेका छन् भने उनीहरूबाट ४ वर्ष २ महिना कैद सजाय कार्यान्वयन गरिएको छ। साथै २ लाख २१ हजार रुपैयाँ बिगो रकम असुल गरिएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ। जनयुद्धकालीन आन्दोलनका क्रममा कारागारबाट फरार भएका दुई जनालाई समेत पक्राउ गरिएको छ।महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित १७ वटा उजुरी प्राप्त भएको प्रहरीले जनाएको छ। सो अवधिमा घरेलु हिंसाका १७ उजुरी दर्ता हुँदा १३ वटा मिलापत्रमार्फत टुंग्याइएको र ४ वटा प्रक्रिया अघि बढाइएको छ। घरेलु हिंसाका घटनामध्ये ८ वटा मानसिक तथा ९ वटा शारीरिक हिंसासँग सम्बन्धित रहेका छन्।हराएका व्यक्तिको खोजतलासतर्फ २१ जना फेला पारिएको प्रहरीले जनाएको छ। यस अवधिमा १० महिला, ३ पुरुष, १ बालक, ४ बालिका, २ ज्येष्ठ महिला र १ ज्येष्ठ पुरुष फेला पारिएको तथ्याङ्कमा उल्लेख छ।
लागुऔषध नियन्त्रण अभियानअन्तर्गत ६ जनालाई पक्राउ गरिएको छ। उनीहरूको साथबाट ट्रामाडोल ३९० क्याप्सुल, डाइजेपाम ६५ एम्पुल, फेनारागन ६६ एम्पुल, बुप्रिनोर्फिन ६५ एम्पुल तथा ट्यापेन्डोल ७०७ ट्याब्लेट बरामद गरिएको प्रहरीले जनाएको छ।जेठ महिनामा जिल्लाभर ८ जनाले आत्महत्या गरेको तथ्याङ्क सार्वजनिक भएको छ। तीमध्ये ७ जनाले झुन्डिएर र १ जनाले विषादी सेवन गरी आत्महत्या गरेका छन्।
आत्महत्या गर्नेमा विभिन्न उमेर समूहका महिला तथा पुरुष रहेका छन्। शान्ति सुरक्षा कायम गर्न प्रहरीले एक महिनामा ८ हजार २० वटा नियमित सुरक्षा गतिविधि सञ्चालन गरेको छ। यस अवधिमा १ हजार ९३० पिकेट ड्युटी, १ हजार २६० चेकिङ, ४ हजार ७१० ग्रामीण गस्ती, ११७ एलआरपी र ३ एसआरपी सञ्चालन गरिएको छ। मेला, पर्व तथा महोत्सवका अवसरमा मात्रै १२० जना प्रहरी परिचालन गरिएको थियो।सवारी दुर्घटना नियन्त्रणका लागि गरिएको चेकजाँचका क्रममा २ हजार ६९७ सवारीसाधनमाथि कारबाही गरी २ करोड १६ लाख ३५ हजार रुपैयाँ राजस्व संकलन गरिएको छ।
जेठ महिनामा ३ वटा सवारी दुर्घटना भएका छन्। ती सबै घटनामा प्रहरी टोलीले उद्धार कार्य सम्पन्न गरेको जनाएको छ। दुर्घटनाको मुख्य कारण तीव्र गति र पैदलयात्रीको लापरवाही रहेको विश्लेषण गरिएको छ।विपद् व्यवस्थापनतर्फ बाढी, पहिरो, आगलागी, चट्याङ लगायतका ६ वटा घटनामा प्रहरी परिचालित भएको छ। ती घटनामा १ जनाको मृत्यु, ३ जना घाइते तथा ४५ जनाको उद्धार गरिएको छ। उद्धार तथा व्यवस्थापनका लागि २३० जना प्रहरी परिचालन गरिएको थियो।प्राकृतिक स्रोत तथा राजस्व संरक्षण अभियानअन्तर्गत अवैध उत्खनन तथा ढुवानीमा संलग्न २६ वटा सवारीसाधन नियन्त्रणमा लिई १२ लाख ९० हजार ६१ रुपैयाँ जरिवाना असुल गरिएको छ। यस्तै ७५.०५ क्युबिक फिट वन पैदावार नियन्त्रणमा लिई १ लाख ३७ हजार २४० रुपैयाँ जरिवाना गरिएको छ।समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत विद्यालय तथा समुदाय केन्द्रित १७२ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको प्रहरीले जनाएको छ।
लागूऔषध, साइबर अपराध, आत्महत्या न्यूनीकरण, बाल विवाह, मानव बेचबिखन, महिला हिंसा, सडक सुरक्षा, घरेलु हिंसा, विपद् व्यवस्थापन लगायतका विषयमा सञ्चालन गरिएका कार्यक्रमबाट ४ हजार ४७० जना प्रत्यक्ष लाभान्वित भएका छन्। तीमध्ये २ हजार ३३ महिला र २ हजार ४३७ पुरुष सहभागी रहेका छन्।जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार जेठ महिनाभर प्रहरी हटलाइन तथा विभिन्न माध्यमबाट प्राप्त १ हजार ४९० उजुरीमध्ये सबै उजुरी फर्छ्योट गरिएको छ। नागरिक सहायता कक्षमार्फत १ हजार ६८० जना सेवाग्राहीले सेवा लिएका छन् भने नागरिकता सिफारिस, हतियार नवीकरणलगायतका ४५ वटा मुचुल्का सम्बन्धी कार्य सम्पन्न गरिएको कार्यालयका सूचना अधिकारी प्रनाउ द्वारिका घिमिरेले जनाएका छन्




















