व्यासहेडलाईनसमाचारगण्डकीस्वास्थ्य

तनहुँको व्यास ९ मा रहेको गजुरे स्वास्थ्य चौकी सञ्चालनमा : अब स्वास्थ्य सेवाका लागि घण्टौँ धाउनुपर्ने बाध्यता अन्त्य

प्रहार समाचार । तनहुँ, ३ असार २०८३ बुधबार । तनहुँको व्यास नगरपालिका–९ स्थित गजुरे स्वास्थ्य चौकी बुधबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले स्वास्थ्य चौकी उद्घाटन गर्दै आधारभूत स्वास्थ्य सेवा प्रत्येक नागरिकको मौलिक हक भएकाले त्यसको सुनिश्चितताका लागि नगरपालिका दृढतापूर्वक लागिरहेको चर्चा गरे ।

नगर प्रमुख न्यौपानेले स्वास्थ्य चौकी सञ्चालनमा आएपछि विशेषगरी व्यास–७, ९ र १० का नागरिकले सामान्य उपचार, स्वास्थ्य परामर्श तथा आधारभूत स्वास्थ्य सेवाका लागि टाढा धाउनुपर्ने बाध्यताको अन्त्य हुने उल्लेख गरे ।

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. जगदीशचन्द्र पोख्रेलले स्वास्थ्य चौकी स्थापनाको पृष्ठभूमि स्मरण गर्दै राज्यको योजना जनताको घरदैलोमा पुगेपछि मात्र विकासले सार्थकता पाउने बताए । उनले स्वास्थ्य पूर्वाधार निर्माणसँगै गुणस्तरीय सेवा प्रवाहलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।

गण्डकी प्रदेश सभाकी पूर्व सदस्य सरिता गुरुङले व्यास नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर नागरिकमैत्री र परिणाममुखी काम गरिरहेको उल्लेख गरिन् । व्यास ९ का वडा अध्यक्का एवम् व्यास नगर प्रवक्ता सुरेश थापाले गजौडे बासिहरुको स्वास्थ्थ सेवामा पहुँचको सपना अहिले आएर साकार भएको बताउँदै स्तरिय स्वास्थ्य सेवा प्रदान गर्न सबैले उ सहयोग गर्नु पर्ने उल्लेख गरे ।

कलेस्ती उपत्यका महिला विकास समाजकी अध्यक्ष रामप्यारी आले, संगम युवा क्लबका अध्यक्ष तथा युवा नेता नरबहादुर गुरुङ, व्यास नगरपालिका जनस्वास्थ्य निरीक्षक लक्ष्मी गुरुङ, स्वास्थ्य चौकी प्रमुख सुनिल चन तथा अन्य स्थानीय अगुवाहरूले गजुरे स्वास्थ्य चौकी सञ्चालनले गाउँमै स्वास्थ्य सेवा पाउने नागरिकको वर्षौँदेखिको अपेक्षा पूरा भएको उल्लेख गरे ।

उनीहरूले स्वास्थ्य संस्था भवन निर्माणमा मात्र सीमित नरही दक्ष जनशक्ति, औषधि र उपकरणको नियमित व्यवस्थापनमा समेत ध्यान दिन आग्रह गरेका थिए । वक्ताहरूले स्वास्थ्य सेवा पहुँचभन्दा टाढा हुँदा नागरिकले भोग्नुपरेको सास्ती अब क्रमशः अन्त्य हुने विश्वास व्यक्त गरेका थिए। गजुरे स्वास्थ्य चौकी सञ्चालनसँगै व्यासका तीन वडाका हजारौँ नागरिकले आफ्नै गाउँनजिक उपचार सेवा पाउने भएकाले यसलाई ग्रामीण स्वास्थ्य सेवाको पहुँच विस्तारतर्फको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button