• विवेक श्रेष्ठ / प्रहार समाचार , तनहुँ , १४ असार २०८२ शनिवार । तनहुँको ऋषिङ गाउँपालिका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठको नेतृत्वमा आज भीरकोट क्षेत्रमा निर्माणाधीन विविध पूर्वाधारहरुको अनुगमन गरिएको छ। अनुगमन टोलीले निर्माणाधीन १५ सैयाको अस्पताल, थप्रेक–काहुँ सडकखण्ड, ढुङ्गाडे पार्क, भीरकोट बस्तीमा जाने बाटो तथा विभिन्न धार्मिक स्थलहरूको स्थलगत अवलोकन गरेको हो।

गाउँपालिकाको वडा नं. ४ मा निर्माणाधीन सो अस्पतालको लागत क ७ करोड ७७ लाख ९७ हजार ९ सय ८८ रुपैयाँ रहेको छ। अस्पतालको भवन निर्माण कार्य सम्पन्न भएलगत्तै आवश्यक दक्ष जनशक्तिको व्यवस्था गरी सेवा सञ्चालन गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए । गाउँपालिकाले यस योजनालाई गौरवको आयोजनाका रूपमा अगाडि बढाएको पालिकाका प्रमुख प्रशासकिय अधिकृत अनिल अमगईले बताए ।

यता, गण्डकी प्रदेश सरकारको १५ करोड रुपैयाँको लागतमा थप्रेक सिमनाथदेखि काहुँसम्म करिब ६ किलोमिटर दूरीमा कालोपत्रे गर्ने योजना अघि बढाइएको छ। यो सडक कालोपत्रे भएपछि भीरकोट क्षेत्रको आवागमनमा सहजता ल्याउने विश्वास लिइएको छ।

यसैबीच, ऋषिङ गाउँपालिका–६, ढुङ्गाडेमा निर्माण भईरहेको पार्कलाई बहुपक्षीय उपयोगको दृष्टिले अघि बढाउने तयारी गरिएको छ। पार्क क्षेत्रभित्रै भलिबल तथा ब्याडमिन्टन खेल मैदान बनाउने योजना पनि अगाडि सारिएको छ।

अध्यक्ष श्रेष्ठले धार्मिक स्थलहरूको सरसफाइ, संरक्षण र पहुँच मार्ग सुधारको विषयमा समेत प्राथमिकता दिइने जानकारी दिए । गाउँपालिकाको बहुआयामिक विकास योजनाले स्वास्थ्य, यातायात, खेलकुद र धार्मिक पर्यटकीय प्रवर्द्धनमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।


























