‘सैद्धान्तिक (बाह्य) परीक्षा र विद्यालयबाट प्रदान गरिने आन्तरिक मूल्यांकनबीच स्पष्ट असंगति देखिनु यस वर्षको पनि एक गम्भीर चिन्ताको विषय बनेको छ। विद्यार्थीको वास्तविक सिकाइ उपलब्धि र क्षमताको यथार्थ मापन गर्नुपर्ने मूल्यांकनमा यस्तो अन्तर आउनुले मूल्यांकन प्रणालीकै विश्वसनीयतामा प्रश्न उठाएको छ।’ भन्दै विष्णुनारायण श्रेष्ठ लेख्छन् :

२०८१ सालको चैत्र ७ देखि १९ गतेसम्म सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा निर्धारित समयमै सार्वजनिक गर्न सफल भएकोमा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्षज्यू, परीक्षा नियन्त्रण कार्यालय–कक्षा १० का नियन्त्रकज्यू तथा समस्त पनिकापरिवारलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु। नतिजामा त्रुटि नरहेको वा अत्यन्त न्यून रहेको होस् भन्ने सबै सरोकारवालाको स्वाभाविक अपेक्षा हुन्छ, त्यसै अनुरूप यो वर्षको नतिजा प्रकाशित भएको भन्ने आशा गरौँ।

परीक्षामा सफल भएका सम्पूर्ण विद्यार्थी दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक बधाई एवं शुभकामना!
त्यस्तै, नन्ग्रेडेड (NG) प्राप्त गरेका विद्यार्थीहरूले निराश वा हतोत्साहित नहुनुहोस्। “घोडा चढ्ने लड्न सक्छ” भन्ने पुरानो भनाइ स्मरण गर्दै, अब हुने ग्रेडवृद्धि परीक्षा (२०८२ साउन २९ देखि) वा आगामी वार्षिक परीक्षाको तयारीमा ढिलो नगरी उच्च आत्मबल र योजना सहित जुट्नुहोस्। यस सन्दर्भमा अभिभावक र शिक्षकहरूबाट आवश्यक सहयोग तथा सहजता प्रदान गरिने अपेक्षा गरिन्छ।
एसईई, २०८१ को नतिजा विवरण
जम्मा उत्तीर्ण परीक्षार्थी संख्या : २,७१,२९९
नन्ग्रेडेड (NG) परीक्षार्थी संख्या : १,६७,५९७
जम्मा उत्तीर्ण प्रतिशत : ६१.८१%
परीक्षा रद्द गरिएको परीक्षार्थी संख्या : १२६
(नोट: परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माका अनुसार, स्थानीय तहमा शिक्षाको अधिकार पुगेपछि शिक्षण–सिकाइमा सुधार देखिएकाले नतिजा पनि क्रमशः सुधारोन्मुख देखिएको हो।)
GPA विवरण:
३.६ – ४.० GPA : ४८,१७७ जना
३.२ – ३.६ GPA : ८१,३८५ जना
२.८ – ३.२ GPA : ८९,१२४ जना
२.४ – २.८ GPA : ४८,४७९ जना
१.६ – २.० GPA : ८ जना
सोचनीय र चुनौतीपूर्ण पक्ष:
सैद्धान्तिक (बाह्य) परीक्षा र विद्यालयबाट प्रदान गरिने आन्तरिक मूल्यांकनबीच स्पष्ट असंगति देखिनु यस वर्षको पनि एक गम्भीर चिन्ताको विषय बनेको छ। विद्यार्थीको वास्तविक सिकाइ उपलब्धि र क्षमताको यथार्थ मापन गर्नुपर्ने मूल्यांकनमा यस्तो अन्तर आउनुले मूल्यांकन प्रणालीकै विश्वसनीयतामा प्रश्न उठाएको छ।
तल उल्लेख गरिएका पाँच प्रमुख विषयहरूमा A+ ग्रेड प्राप्त गर्ने परीक्षार्थीहरूको संख्या हेर्दा यो स्पष्ट देखिन्छ:
१) अंग्रेजी:
सैद्धान्तिक (बाह्य) : ३३,८७५ जना
आन्तरिक मूल्यांकन : ३,०१,७२५ जना
२) नेपाली:
सैद्धान्तिक : १०,४१६ जना
आन्तरिक मूल्यांकन : २,९४,१५७ जना
३) गणित:
सैद्धान्तिक : ३७,९१८ जना
आन्तरिक मूल्यांकन : ३,११,३५४ जना
४) विज्ञान:
सैद्धान्तिक : ३४,८३३ जना
आन्तरिक मूल्यांकन : ३,०८,६४९ जना
५) सामाजिक:
सैद्धान्तिक : ६,६१० जना
आन्तरिक मूल्यांकन : २,८७,३८३ जना
उपरोक्त तथ्यांकले देखाउँछ कि सैद्धान्तिक र आन्तरिक मूल्यांकनबीचको असन्तुलन सामान्य विचलन मात्र नभई संस्थागत समस्या भएको संकेत गर्दछ। यो नतिजा विद्यालय तहमा मूल्यांकन गर्ने शिक्षकहरू, प्रशासन र कतिपय अवस्थामा अभिभावकको अनावश्यक दबाबसँग पनि सम्बन्धित हुन सक्छ।
त्यसैले, आन्तरिक मूल्यांकनमा उच्च नैतिकता, इमान्दारिता र पारदर्शिता कायम राख्न अत्यावश्यक देखिन्छ। जिम्मेवारी वहन गर्दा हरेक सरोकारवाला पक्षले आफ्नो भूमिकाप्रति गम्भीर हुनुपर्छ, अन्यथा शिक्षण प्रणालीप्रतिको विश्वास गुम्ने खतरा रहन्छ।
(• श्रेष्ठ पूर्व परीक्षा नियन्त्रक हुन् । )
























