प्रहार समाचार । तनहुँ, १४ असार २०८२ शनिवार । तनहुँको व्यास नगरपालिका–५, चापाघाटस्थित शान्तिवर्ष माध्यामिक विद्यालयकी छात्रा स्नेहा गिरीले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा ४.० जिपिए प्राप्त गरेकी छन्।

शुक्रबार सार्वजनिक नतिजा अनुसार गिरीले सो उत्कृष्ट नतिजा हासिल गरेकी हुन्। विद्यालयमा अरु पनि मेधावी विद्यार्थीहरू भएपनि गिरिले चार जिपिए ल्याएर विद्यालयको पुरानोविरासत धान्न सफल भएको विद्यालयका प्रधानाध्यापक उदित पौडेलले बताए । ‘ ‘यसले सिङ्गो विद्यालय परिवारलाई थप उर्जा र हौसला बढाएको छ ।’ -उनले भने ।
- शान्तिवर्ष मा वि की छात्रा स्नेहा गिरी

यस वर्ष तनहुँ जिल्लामा जम्मा चार जना विद्यार्थीले मात्र ४.० जिपिए प्राप्त गरेका छन्। तीमध्ये व्यास नगर क्षेत्रबाट गिरी एकमात्र विद्यार्थी हुन् जसले पूर्ण जिपिए ल्याउन सफल भएकी हुन्।
त्यसैगरी, औंबुखैरेनी गाउँपालिकाअन्तर्गत रहेको रामशाह माविका छात्र किस्मत पोख्रेल र छात्रा संन्जिना थापाले पनि ४ जिपिए ल्याएका छन्। औंबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले प्रहार अनलाईसँग कुराकानी गर्दै पालिकाले शिक्षा क्षेत्रमा गरेको लगानीको सकारात्मक प्रतिफल देखिन थालेको टिप्पणी गरे। पालिकाका सरकारी विद्यालयको औसत नतिजा ७९ प्रतिशत रहेको छ।
यस्तै, बन्दीपुर गाउँपालिकामा रहेको पवित्र माध्यमिक विद्यालयका एक जना विद्यार्थीले पनि ४.० जिपिए ल्याएका छन्। यसअनुसार, तनहुँ जिल्लाभरबाट जम्मा ४ जना विद्यार्थीले ४.० जिपिए प्राप्त गरेका हुन्।
























