हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

आजको मौसम : देशमा मनसुन सक्रिय : कर्णाली, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

प्रहार समाचार । काठमाडौं, १४ असार २०८२ शनिवार । हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ। सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा रातिदेखि नै लगातार पानी परिरहेको छ भने कास्कीको लुम्ले, नुवाकोट, सिन्धुपाल्चोक, दोलखा लगायतका क्षेत्रहरूमा पनि हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका अन्य भूभागमा कतै हल्का वर्षा त कतै घाम लागेको अवस्था रहेको छ।

महाशाखाका अनुसार आज शनिबार बेलुकीदेखि कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका थोरै ठाउँमा भारी वर्षा हुनसक्ने अनुमान गरिएको छ। आगामी सोमवार बिहानसम्म ती क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना रहेकाले महाशाखाले मनसुन विशेष मौसम बुलेटिनमार्फत सतर्कता अपनाउन आग्रह गरेको छ। बंगालको खाडी तथा अरब सागरबाट जलवाष्पयुक्त हावा सक्रिय हुनुका साथै न्यूनचापीय प्रणालीको प्रभावका कारण वर्षा बढ्ने देखिएको हो।

मनसुनको न्यूनचापीय रेखा शनिबार साँझदेखि पश्चिम नेपाल नजिक सरिरहेको र यसले असार १६ गतेसम्म कर्णाली, लुम्बिनी र सुदूरपश्चिममा मनसुन अझै सक्रिय बनाउने विभागको अनुमान छ। सम्भावित भारी वर्षाका कारण भू–क्षय, बाढी, पहिरो, गेग्रान बहाव तथा डुबानको जोखिम रहन सक्ने भएकाले नदी किनार, शहरी तथा तराई क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन भनिएको छ। साथै, यातायात र निर्माण क्षेत्रमा समेत असर पर्न सक्ने भएकाले पूर्वतयारी र सतर्कता अनिवार्य रहेको विभागको चेतावनी छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button