हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

आजको मौसम : देशका केही स्थानमा भारी वर्षाको सम्भावना

प्रहार समाचार । काठमाडौं, ५ असार २०८२ बिहीवार । देशका विभिन्न भागमा रातिदेखि नै वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ । दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा ठूलो पानी पर्ने पूर्वानुमान गरिएको छ ।

आज राति पनि कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा चट्याङसहित वर्षा हुने सम्भावना छ भने अन्य प्रदेशका थोरै स्थानमा पनि हल्कादेखि मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भने भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको बताइएको छ ।

यस वर्ष नेपालमा १५ जेठमै कोशी प्रदेशबाट मनसुन प्रवेश गरिसकेको भए पनि तीन साता नाघ्दासमेत लुम्बिनीको पश्चिमी भाग, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अझै पुग्न सकेको छैन । २९ जेठसम्म गण्डकी र लुम्बिनीको पूर्वी भू-भागमा मात्र मनसुनी प्रणाली फैलिएको हो । तर, मनसुनी वायु नपुगेका ती क्षेत्रमा स्थानीय र पश्चिमी वायुले भने वर्षा गराइरहेको महाशाखाको भनाइ छ ।

हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही भू-भाग तथा लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका केही स्थानमा मनसुनी वायुको प्रभाव देखिएको छ । पश्चिमी भू-भागमा भने स्थानीय वायु र भारतको पश्चिम बंगाल आसपास बनेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव परिरहेको महाशाखाले जनाएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button