प्रहार समाचार । तनहुँ , ५ असार २०८२ बिहीवार । तनहुँको आँबुखैरेनी गाउँपालिकामा ट्रमा सेन्टर निर्माणको लागि ब जग्गा प्राप्ति प्रक्रिया टुंगिएको छ। सरकारले यही असार १ गते बसेको मन्त्रिपरिषद् बैठकमार्फत नेपाल सरकारको नाममा रहेको १० रोपनी जग्गा १५ शय्याको अस्पताल निर्माणका लागि गाउँपालिकालाई प्रयोग गर्न स्वीकृति दिएको हो।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमार्फत भएको स्वीकृतिसँगै अस्पताल निर्माण प्रक्रिया अघि बढ्ने पालिका अध्यक्ष शुक्र चुमानले जानकारी दिए। “लामो मेहनत लाग्यो यो जग्गा प्राप्तिका लागि, ट्रमा सेन्टर बनाउने सपना को एक खुड्किला चढियो जस्तो लाग्छ,” उनले प्रतिक्रिया दिए। गाउँपालिकाले पूर्वाधार निर्माणका लागि योजना तयार गरिसकेको र आवश्यक बजेटको व्यवस्थापनको पहल भइरहेको उनले बताए।

दुर्घटनाजन्य घटनामा तत्काल उपचारको आवश्यकता रहने भएकाले ट्रमा सेन्टर अत्यन्तै आवश्यक रहेको स्थानीयको धारणा छ। पृथ्वीराजमार्ग नजिकै अवस्थित आँबुखैरेनी क्षेत्र सवारी दुर्घटनाको जोखिमयुक्त क्षेत्र मानिन्छ, जसलाई ध्यानमा राख्दै अस्पताल निर्माणको पहल गरिएको हो। अब छिट्टै निर्माण कार्य सुरु हुने विश्वास गरिएको छ।


























