• विजय अधिकारी (प्रहार संवाददाता ) लमजुङ, ४ असार २०८२ बुधवार । लमजुङको प्रवेश नाका पाउँदीमा आज बिहान ट्रक र माइक्रोबस एक आपसमा ठोक्किँदा सडक दुर्घटना भएको छ। लमजुङ प्रहरीले घटनामा मानवीय क्षति नभएको पुष्टि गरेको छ भने सवारी साधनमा सामान्य क्षति पुगेको जनाइएको छ।

प्राप्त विवरण अनुसार खत्रीठाँटीबाट काठमाडौंतर्फ जाँदै गरेको बा २ ख ९८३५ नम्बरको माइक्रोबस र बेसीशहरतर्फ आउँदै गरेको ना ५ ख ८१६० नम्बरको ट्रक पाउँदीमा ठोक्किएका हुन्। प्रत्यक्षदर्शीका अनुसार दुबै सवारी तीव्र गतिमा रहेका र मोडमा नियन्त्रण गुमाउँदा ठक्कर भएको हो।

माइक्रोबस सडक छेउमा निर्माण गरिएको पर्खालमा अड्किएकाले सिधै खोलामा खस्नबाट जोगिएको थियो। ठूलो दुर्घटनाबाट जोगिन सफल भए पनि स्थानीयवासीले पाउँदी क्षेत्रमा ट्राफिक व्यवस्थापन र सडक सुरक्षामा ध्यान दिनुपर्ने आवश्यकता औंल्याएका छन्।


























