प्रहार समाचार । तनहुँ, ४ असार २०८२ बुधवार । ऋषिङ गाउँपालिका–८, दुईघर स्कुल गेट नजिकै घरधुरी सर्वेक्षणमा खटिएका एक व्यक्ति सरकारी गाडीको ठक्करबाट घाइते भएका छन्। मंगलबार दिउँसो २:१५ बजेको समयमा नेपाल नेत्रहीन संघ तनहुँको सर्वेक्षण अभियानमा सहभागी रहनुभएका विवेक श्रेष्ठलाई जिल्ला समन्वय समिति तनहुँ र कृषि ज्ञान केन्द्र तनहुँको संयुक्त गाडी नं बा ए ए १५०९ नम्बरको गाडीले ले ठक्कर दिएको हो।

दुर्घटनापछि रोक्न खोजिए पनि गाडी नरोकी भागेको घाइते श्रेष्ठले बताए। “ठक्कर दिएपछि गाडी रोकिएन, म भुइँमा लडेको अवस्थामा समेत चालकले गाडी थामेन,” घाइते श्रेष्ठको भनाइ छ। उनको हात, खुट्टा र टाउकोमा चोट लागेको छ।

श्रेष्ठ पछिल्लो समय सञ्चार क्षेत्रमा समेत सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्। यस्ता मानवीय सेवामा खटिएका व्यक्तिलाई ठक्कर दिएर भाग्नु अत्यन्तै निन्दनीय भन्दै उनले दोषी चालकलाई तुरुन्त कारबाहीको माग गरेका छन् ।

श्रेष्ठले घटनापछि समेत तीनवटा गाडी त्यहि बाटो भएर गए पनि कुनै गाडीले समेत उपचारका लागि सघाउ नगर्नु गैरजिम्मेवार र अमानवीय व्यवहार भएको भन्दै आक्रोश व्यक्त गरेका छन्। “गल्ती हुन सक्छ, तर जिम्मेवार ओहदामा बसेका व्यक्तिहरूले यस्तो संवेदनशील विषयमा मानवीय सहानुभूति देखाउनुको सट्टा पदको घमण्ड प्रदर्शन गर्नु दुखद हो । ” उनले प्रहार समाचार संङ्ग भने ।
हालसम्म ठक्कर दिने गाडीको विषयमा स्पष्ट धारणा नआएको र दोषी पहिचान गरी आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइनुपर्ने स्थानीयवासीको माग छ।


























