प्रहार समाचार । तनहुँ, ४ असार २०८२ बुधवार । तनहुँको घिरिङ गाउँपालिकाका कृषकहरु प्रविधि मैत्री खेति गर्ने प्रणाली प्रति आकर्षीत हुन थालेका छन्। पालिकामा सम्पन्न चार दिने तालिमपछि उनिहरुमा प्रविधिको ज्ञान सङ्गै आत्मविश्वास समेत बढेको पाइएको छ ।

तालिम समापन समारोहमा बोल्दै गाउँपालिका अध्यक्ष होमबहादुर थापाले घिरिङ कृषि क्षेत्रको लागि उर्वर भूमि भएको उल्लेख गर्दै प्रविधिको प्रयोगबिना अबको कृषि सम्भव नरहेको बताए।
अध्यक्ष थापाले घिरिङमा अङ्गुर खेतीले उल्लेखनीय सफलता र चर्चा कमाएको जानकारी दिँदै परम्परागत विधिबाट बाहिर निस्केर आधुनिक कृषि प्रविधि अपनाउनुपर्ने आवश्यकता औंल्याए। “खेतीकिसानी केवल मेहनत होइन, ज्ञान र प्रविधिको सन्तुलन पनि हो,” उनले भने, “उत्पादनसँगै बिषादीको प्रयोग, बजार मूल्य र आम्दानीको विश्लेषण पनि गर्नुपर्ने समय आएको छ।”

कार्यक्रममा उपाध्यक्ष राधादेवी अधिकारी, वडा अध्यक्ष रविचन्द्र घोरासेनी, कार्यपालिका सदस्य सरिता विकलगायतको उपस्थिति रहेको थियो। तालिमको अध्यक्षता वडा नं. ४ का अध्यक्ष भीमबहादुर कुमालले गरेका थिए भने सञ्चालन कृषि शाखा नायब प्राविधिक सहायक सामना नेपालीले गरेकी थिइन्।

तालिममा ४० जना कृषकहरूको सहभागिता रहेको थियो। उनीहरूलाई खाद्यान्न बालीमा आधुनिक प्रविधिको प्रयोग, रैथाने बालीको संरक्षण, र आम्दानीमुखी खेतीबारे व्यावहारिक जानकारी दिइएको थियो। तालिमको सहजीकरण कृषि शाखा प्रमुख रविराम दामले गरेका थिए।


























