प्रहार समाचार । तनहुँ, ४ असार २०८२ बुधवार । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम र बजेट तर्जुमा प्रक्रिया अघि बढाएको भिमाद नगरपालिकाले आम नागरिकदेखि विज्ञ र सरोकारवालासम्म सबैबाट सुझाव संकलन गर्न आह्वान गरेको छ। नगरप्रमुख दधिराज सुवेदीले सार्वजनिक सूचना जारी गर्दै नीति निर्माण र बजेट निर्माण प्रक्रियामा जनताको प्रत्यक्ष सहभागिता सुनिश्चित गरिने बताएका छन्।

नगरपालिकाले नीति तथा कार्यक्रम जनउत्तरदायी बनाउन संघ–संस्था, बुद्धिजीवी, विज्ञ, राजनीतिक दल, व्यवसायी, समाजसेवी, पेशाकर्मी, सञ्चारकर्मी, कर्मचारी तथा सर्वसाधारण नागरिकहरूलाई सुझाव पेश गर्न आह्वान गरेको हो। प्राप्त सुझावलाई प्राथमिकता दिँदै आगामी वर्षका नीति तथा कार्यक्रम तय गरिने जनाइएको छ।
सुझावहरू आगामी असार ५ गतेसम्म पठाउन सकिनेछ। नगरवासीहरूले QR कोडमार्फत Google Form भरेर वा भिमाद नगरपालिकाको इमेल [email protected] मा पठाएर आफ्ना सुझाव दिन सक्ने व्यवस्था गरिएको छ।

नगरप्रमुख सुवेदीका अनुसार, “भिमाद नगरलाई समावेशी, दिगो र जनमुखी विकासको यात्रामा अगाडि बढाउन सबैको सुझाव अपरिहार्य छ। हामी योजनालाई जनताको भावना अनुसार तयार पार्नेछौँ।”
नगरपालिकाले विगतका वर्षहरूमा पनि नागरिक सुझावका आधारमा केही महत्वपूर्ण कार्यक्रमहरू कार्यान्वयनमा ल्याएको स्मरण गराउँदै यसपटकको प्रक्रिया अझ व्यवस्थित र सहभागितामूलक हुने बताएको छ।

























