प्रहार समाचार । तनहुँ, ४ असार २०८२ बुधवार । घरेलु काममा सीमित रहँदै आएका महिलाहरूलाई स्वरोजगारतर्फ प्रेरित गर्ने उद्देश्य तनहुँको आँबुखैरेनी गाउँपालिकाले लिएको छ। यसैको पछिल्लो उदाहरण हो ‘रैथाने खाजा बनाउने तीन दिने र क्यान्डी बनाउने पाँच दिने तालिम । जुन तालिमले महिलाहरुलाई स्वरोजगारको बाटो तर्फ उन्मुख गरेको छ।

आर्थिक वर्ष २०८१/८२ को उद्यम विकास शाखाअन्तर्गत सञ्चालित तालिमले महिलाहरूको सीप अभिवृद्धि गर्दै उनीहरूलाई उत्पादनमुखी बनाउने लक्ष्य राखिएको हो।
तालिममा स्थानीय १४ जना भन्दा बढी महिलाहरूको सहभागिता रहेको थियो। उनीहरूले रैथाने परिकार तथा क्यान्डी जस्ता उपभोग्य सामग्री बनाउन प्रयोगात्मक ज्ञान हासिल गरेका थिए। तालिमले महिलाहरूको आत्मविश्वास बढाउनुका साथै उनीहरूलाई लघु उद्यम स्थापना र आर्थिक आत्मनिर्भरतातर्फ उन्मुख गराउने विश्वास लिइएको छ।

गाउँपालिका अध्यक्ष शुक्र चुमान, उपाध्यक्ष दुर्गा अर्याल, प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद शर्मा, वडा सदस्य गंगा बि.सी.लगायतको उपस्थिति रहेको कार्यक्रममार्फत महिलालाई सीप आधारित तालिम दिनु आर्थिक समावेशीतातर्फको सार्थक कदम भएको जनाइएको छ। अध्यक्ष चुमानले महिलाहरूलाई घरभित्र मात्रै सीमित नराखी आर्थिक विकासमा पनि सक्रिय सहभागी बनाउन यस्तो तालिम आवश्यक भएको बताए।

तालिम पश्चात सहभागी महिलाहरूले व्यवसायिक रूपमा उत्पादन सुरु गर्ने तयारी गरिरहेका छन्। गाउँपालिकाले उत्पादनको बजारीकरणका लागि आवश्यक सहयोग र सहजीकरण गरिने प्रतिबद्धता जनाएको छ, जसले दीर्घकालीन रूपमा महिलाहरूको जीवनस्तर उकास्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ।

























