प्रहार समाचार । काठमाडौं, २ असार २०८२ सोमवार । नेपालका विभिन्न प्रदेशहरूमा मनसुन सक्रिय भई अहिले वर्षा भइरहेको छ। हाल कोशी, मधेस, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका केही भू-भागमा मनसुनी वायुले प्रभाव जमाएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

साथै देशको पश्चिम भू-भागमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा आइतबार रातिदेखि नै वर्षा भइरहेको विभागको जानकारी छ। विशेष गरी पर्वत र बाग्लुङमा पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै पानी परेको छ भने पाल्पा, म्याग्दी, लमजुङ, बाँके लगायतका क्षेत्रमा पनि हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
सोमबार देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा अन्य प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा पनि हुनसक्ने चेतावनी दिइएको छ। त्यसैगरी, बाग्मती, गण्डकी र लुम्बिनीका उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का वर्षा र हिमपातको सम्भावना पनि रहेको छ।
मौसम विभागका अनुसार, यस वर्षको मनसुन अवधिमा देशभर औसतभन्दा बढी वर्षा हुने अनुमान गरिएको छ। हाल कोशी प्रदेशबाट सुरु भएको मनसुन क्रमशः पश्चिमतर्फ सर्दै लुम्बिनी प्रदेशसम्म फैलिसकेको छ। आगामी दिनमा वर्षा थप सक्रिय हुँदै जाने भएकाले सतर्क रहन विभागले आग्रह गरेको छ। मौसम परिवर्तनसँगै बाढी, पहिरो र डुबानको जोखिम रहेका स्थानहरूमा विशेष सावधानी अपनाउन विभागले सल्लाह दिएको छ
























