प्रहार समाचार । काठमाडौं, १ असार २०८२ आइतवार । नेपाल आयल निगमले आइतबार रातिदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्यमा पुनः वृद्धि गरेको छ। निगम सञ्चालक समितिको आइतबार बसेको बैठकले पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढाउने निर्णय गरेको हो।

मूल्य समायोजनसँगै राजधानी काठमाडौँमा पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ र डिजेलको १४५ रुपैयाँ पुगेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। मट्टितेलको मूल्य पनि सोही दरले वृद्धि भएको छ।
लगातारको मूल्यवृद्धिले सर्वसाधारणको जीवनस्तरमा थप भार परेको भन्दै उपभोक्ता अधिकारकर्मीहरूले असन्तुष्टि जनाएका छन्। अन्तर्राष्ट्रिय बजारको मूल्यसँग तुलना गर्दा नेपालमा खुद्रा बिक्री दर अझै महँगो रहेको भन्दै सरकार र निगमको मूल्य निर्धारणप्रति प्रश्न उठ्दै आएको छ।
























